Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

सातघुम्ती आगलागी : महानगरद्वारा प्रति मृतक एक लाख राहत दिने निर्णय

उद्‌घोष सम्वाददाता
२१ मंसिर २०८०, बिहिवार

विराटनगर, २१ मंसिर : विराटनगर महानगरपालिकाले सातघुम्तीको कवाडीमा भएको आगलागी घटनामा मृत्यु भएका व्यक्तिहरूका परिवारलाई प्रति मृतक एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

महानगर विपद् व्यवस्थापन समितिमार्फत प्रति मृतक एक लाख रुपैयाँ र प्रति घाइते ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको मेयर नागेश कोइरालाले बताए ।

वडा नम्बर ७ सातघुम्ती रोडमा रहेको दुखा मण्डलले सञ्चालन गरेको कवाडीमा बुधबार अपरान्ह आगलागी भएको थियो । आगलागीमा परी तीन जनाको मृत्यु भएको छ । महानगरपालिकाले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो ।

‘यत्रो घटना भए पनि स्थानीय सरकारको जिम्मेवारीअनुसार मृतक र घाइते परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको हो’ मेयर कोइरालाले भने, ‘काठमाडौंमा उपचारकै क्रममा निधन भएकी सुनिता कामतको शव ल्याउन समेत महानगरले व्यवस्थापन गरिरहेको छ ।’ 

महानगरले कवाडी व्यवसाय र गोदामसहितका सम्वेदनशील व्यवसायलाई व्यवस्थित गर्ने योजना अघि बढाएको बताए । उनले विराटनगर क्षेत्रका खानेपानी आयोजनामा दमकलका लागि पानी भर्ने व्यवस्था मिलाउन छलफल अघि बढाउने पनि जानकारी दिए ।

‘भविष्यमा यस्ता विपद् नआओस् भनेर महानगरपालिका गम्भीर छ, महानगरपालिकाले निश्चित स्थान तोकेरमात्रै कवाडी, गोदामलगायत अन्य सम्वेदनशील व्यवसाय सञ्चालन गर्न अनुमति दिनेछ’ उनले भने, ‘यसअघि पनि कवाडी व्यवसाय व्यवस्थापनका लागि पटक–पटक सरोकारवालासँग छलफल गरेर सुरक्षा मापदण्ड पूरा गर्न अनुरोध गरेको स्मरण गराउन चाहन्छु ।’ उनले कवाडी र गोदामहरूको सुरक्षा सम्वेदनशीलताका लागि मापदण्ड लागू गरिने बताए ।

उक्त कवाडीमा आगलागी हुँदा कवाडीमा रहेका सरसामानसहित त्यहाँ जोडिएका घरहरूमा समेत क्षति पुगेको थियो ।

आगलागीमा परी घाइते भएका चारजनालाई नेपाली सेनाको जहाजबाट बुधबार साँझ नै काठमाडौं पुर्‍याइएको थियो । उपचाररत चार घाइतेहरूमध्ये एक जनाको उपचारकै क्रममा बुधबार राती करीव साढे ८ बजे मृत्यु भएको थियो ।

दुई जनाको भने बुधबार नै निधन भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगर–७ का कवाडी सञ्चालकका परिवारकै ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा विराटनगरस्थित न्यूरो हस्पिटलमा मृत्यु भएको हो ।

त्यसैगरी कवाडीभित्रै जलेर मृत्यु भएकी एक महिलाको पनि सनाखत भएको छ । मृतक महिला विराटनगर–६ की सुशीला पासवान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले घटनास्थलमा तत्काल पहिचान नखुलेको महिला मृतः अवस्थामा फेला परेकोमा मृतक व्यक्ति ५५ वर्षीया सुशीला पासवान रहेको जानकारी दिए ।

प्रहरीले बुधबार सार्वजनिक गरेको घटना विवरणमा सुशीला पासवान गम्भीर घाइते भनिए पनि उनी विराटनगर–६ कै ६५ वर्षीया सुनिता कामत रहेको खुल्न आएको छ । प्रवक्ता दाहालका अनुसार सुनिताको पनि उपचारका क्रममा कीर्तिपुरस्थित बर्न अस्पतालमा बुधबार साँझ साढे ८ बजेतिर मृत्यु भएको जनाइएको छ ।

उपचारका लागि बर्न अस्पताल पुर्‍याइएका विराटनगर–६ बस्ने अन्दाजी ६० वर्षीया रीता सरदारको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । उपचारकै क्रममा रहेका विराटनगर–६ कै ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामतको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबैको उपचार जारी रहेको जनाइएको छ ।

View : 193

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved