सुनसरी : सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका बेला नयाँ स्वरुप पाएको इटहरी रंगशाला जीर्ण बन्दै गएको छ । सम्बन्धित निकायले यसमा बेवास्ता गरेको छ । सातौं राष्ट्रिय खेलकुदको सफल आयोजनापछि इटहरी रंगशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न राष्ट्रिय खेलकुद परिषद्ले ३७ करोड रुपैयाँभन्दा बढी लगानी गरेको थियो । तर‚ त्यसयता रंगशालाको संरक्षण हुन सकेको छैन ।
संरक्षणमा तीनै तहका सरकारबीच समन्वय नहुँदा रंगशाला जीर्ण अवस्थामा पुगेको छ । ४ हजार दर्शक क्षमताको भीआइपी प्यारापिटसहित विभिन्न एक दर्जन खेल एकै पटक सञ्चालन गर्न सकिने इटहरी रंगशालालाई पूर्वको सपनाको रुपमा परिभाषित गरिएको थियो ।
तर अहिलेसम्म पनि स्वामित्व हस्तान्तरणमा राष्ट्रिय खेलकुद परिषद्ले चासो नदेखाउँदा रंगशाला अलपत्र छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले रंगशालामा कुनै पनि संरचना बनाउँदा प्रक्रियागतरुपमा नबनाइएकाले कतिपय संरचना अहिले पनि अधुरै रहेको बताए ।
इटहरी रंगशाला परिसरमा निर्माण गरिएको ब्याडमिन्टन कोर्ट भवनबाहेक अन्य कुनै पनि संरचनाको शतप्रतिशत निर्माण कार्य नसकिएको उनले जानकारी दिए । तत्कालीन समयमा अंशगतरुपमा खरिद प्रक्रिया नगरिएकाले अहिले समस्या आएको बताए । यद्यपि अब बस्ने राखेपको बोर्ड बैठकले यसबारे निर्णय लिने घिसिङको भनाइ छ ।
राखेपका तत्कालीन सदस्यसचिव केशवकुमार विष्टले रंगशालामा तेक्वान्दो भवन, ब्याडमिन्टन कोर्ट, भलिबल एकेडेमी, उसु, कराते भवन, टेबल टेनिस लगायत खेलका पूर्वाधार बनाउन बजेट उपलब्ध गराएका थिए ।
आठ बिघा क्षेत्रफलमा रहेको रंगशालालाई स्पोर्ट्स कम्प्लेक्समा परिणत गर्न विष्टले आफ्नो गृहनगर इटहरीमा खेलकुदका संरचनाको निर्माणलाई प्राथमिकता दिएका थिए । तर त्यसयताका सदस्यसचिवले रंगशाला निर्माणको काम नै त्रुटिपूर्ण रहेको भन्दै स्तरोन्नति गर्न चासो देखाएनन् । यसले गर्दा जीर्ण बन्दै गएको हो ।
View : 190
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved