Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

कालीगण्डकीमा पक्की पुल निर्माण सम्पन्न

उद्‌घोष संवाददाता
११ कार्तिक २०८१, आइतवार

Advertisement

बलेवा , ११ कात्तिक । कालीगण्डकी नदीमा पक्की पुल निर्माण भएपछि बागलुङ र पर्वतको दक्षिण क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहज भएको छ ।

गण्डकी प्रदेश सरकारको रणनीतिक सडक जोड्ने उक्त पुल बनाउन थालिएको करिब सात वर्षपछि निर्माण सम्पन्न भएको हो ।

पोखराबाट पर्वतको फलेबास हुँदै बागलुङको जैमिनीघाट र गलकोट जोड्ने रणनीतिक सडकअन्तर्गत कालीगण्डकी पुल तयार भएपछि सर्वसाधारण खुसी भएका छन् ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्ग तथा पोखराबाट गलकोट जाने वैकल्पिक मार्गका रुपमा यो सडक पाँच वर्षअघि सूचीकृत भएको थियो ।

पोखराबाट गलकोटसम्मको सडक तयार हुँदा कालीगण्डकी नदी वारपार गर्न बन्दै गरेको पुल सात वर्षपछि सम्पन्न भएको हो ।

निर्धारित समयमा काम सक्न प्राविधिक र भौगोलिक कारण कारक बन्दा पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । 

रसुवा/श्री गीता/फेवा संयुक्त निर्माण कम्पनीले विसं २०७३ असोज ९ गते सम्झौता गरेको ठेक्काको काम ढिला गरी सकिएको हो ।

उक्त पुलको पूर्वतर्फको खण्डमा सडकले जोड्न बाँकी छ । “पहरो परेकाले झन्डै ५० मिटर सडक नयाँ बनाउनुपर्ने छ ।

यो सडक बनेपछि मङ्सिरभित्र मोटर गुड्नेछ”, ठेकेदार कम्पनीका प्रतिनिधि नीलकुमार राईले भने ।

पश्चिम किनारमा कालीगण्डकी करिढोर कालोपत्र हुँदै गरेको र पूर्वी किनारमा कुश्मा फलेबास सडक कालोपत्र भइसकेकाले यो पुल तत्कालै प्रयोगमा आउने उनले बताए ।

“पुल निर्माण सकिएको छ ।

अब लिङ्क रोडको काम एक महिनामा सक्छौँ”, राईले भने, “भुक्तानीका लागि डिजाइन परिवर्तन भएको पत्र पाएका छैनौँ ।”

नदीमा पायल फाउन्डेसनबिना पुलको पिलर ठड्याउन नसकेपछि सडक विभागले डिजाइन परिवर्तन गरेको थियो ।

सोही अनुसारको भुक्तानी स्वीकृति नभएको बताउँदै डिजाइन परिवर्तन गर्नुपरेकाले तीन पटकसम्म म्याद थप्नुपरेको उनले जानकारी दिए ।

जैमनी नगरपालिका–१ जैमिनीधामबाठ पर्वतको फलेवास नगरपालिकाको देवीस्थान जोड्ने एकसय मिटर लामो मोटरेबल पुल सम्पन्न भएपछि स्थानीयलाई आवागमनमा सहज हुने भएको छ ।

“यो पुलले पोखरासम्म जाने नयाँ मार्गको ढोका खोलेको छ”, जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, “यहाँका बासिन्दालाई अब पोखरा जान करिब ३० किमी दूरी छोटो पर्छ ।”

मध्यपहाडी लोकमार्गबाट करिडोर हुँदै पोखरा पुग्ने विकल्पका रुपमा यो मार्ग प्रयोगमा आउने उनले बताए ।

गत असारमा अन्तिम म्याद थप भए पनि मङ्सिरसम्ममा काम सकेर हस्तान्तरण हुनेगरी काम भइरहेको सडक डिभिजन कार्यालय बागलुङका डिभिजन प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

पुलको भौतिकतर्फ ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको भन्दै वित्तीयतर्फ भने ८६ प्रतिशत मात्रै भुक्तानी भएको उनले बताए ।

प्रसिद्ध जैमिनीधामबाट पर्वतको फलेबास–कार्कीनेटा, स्याङ्जाको पुतलीखेत हुँदै पोखरा जोड्ने यो वैकल्पिक र छोटो मार्ग हो ।

१३ करोड १२ लाख ४९ हजार तीन सय ६४ को लागतमा यो पुलको सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । रासस

View : 195

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved