विराटनगर । विराटनगर महानगर वडा नम्बर ११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडा कार्यालयको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालयको अगुवाइमा वडाका दुईवटा सामुदायिक विद्यालयमा अभियान सुरू गरिएको विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले जानकारी दिए । उनले भौतिक पूर्वाधार सुधारपछि विद्यालयको गुणस्तर सुधार अभियान सुरु गरेको बताए ।
वडाध्यक्ष नेउपानेले यो अभियान गत असोजदेखि नै सुरु गरिएको बताए । पहिलो चरणमा शिक्षक, व्यवस्थापन समिति र टोल संगठनका प्रतिनिधिहरुलाई राखेर छलफल गरिएको र दोस्रो चरणमा अभिभावकहरुसँगै बसेर छलफल गरिएको जानकारी दिए ।
वडा नम्बर ११ मा सामुदायिकतर्फ एउटा आधारभूत र एउटा माध्यमिक विद्यालय रहेको छ । छलफलका छलफलका क्रममा शिक्षकहरुले नपढाएको, व्यवस्थापन समितिले गर्नुपर्ने जति काम नगरेको र जनप्रतिनिधिहरुले पनि वास्ता नगरेको गुनासो आएको उनले बताए ।
‘शैक्षिक सुधार अभियान असोजदेखि नै सुरु गरेको हो, पहिलो चरणमा शिक्षक, अभिभावक, टोल संगठनका अध्यक्षहरुलाई राखेर छलफल चलाएका थियौं, छलफलमा शिक्षकले नपढाएको, व्यवस्थापन समितिले काम नगरेको, जनप्रतिनिधिले वास्ता नगरेको कुरा पनि आयो, अभिभावकहरुले साथ नदिएको कुरा आयो’ उनले भने, ‘सामुदायिक विद्यालयमा समस्याहरु देखिएपछि क्रमैसँग छलफल गरेर विद्यालय सुधारको अभियान सुरु गरिएको छ, विद्यार्थी नआउने कुरामा अभिभावकहरुसँग छलफल गरेका छौं, पढाउने कुरामा शिक्षकहरु र विद्यालय सुधारमा बाहिरी पाटोमा व्यवस्थापन समितिसँग अन्तरक्रिया गरिरहेका छौं ।’
दोस्रो चरणको अभियान अन्तरगत शुक्रबार अभिभावकहरुलाई यातायात खर्च नै दिएर बोलाइएको र विद्यालयमा आफ्ना बालबालिकाहरुलाई नियमित रुपमा पठाउनका लागि आग्रह गरिएको जनाइएको छ ।
वडाध्यक्ष नेउपानेले छलफल सुरु भएपछि सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि केही प्रयास अघि बढेको बताए । दुवै विद्यालयमा आवश्यक भौतिक संरचना र अन्य पूर्वाधारहरु आवश्यक मात्रामा बनाइसकिएकोले अब गुणस्तरीय शिक्षाका लागि अभियान सुरु गरिएको उनले बताए ।
‘पूर्वाधार विकासमा गर्नुपर्ने ठुलो लगानी भइसकेको छ, अब शिक्षाको सुधार हुन सकेको थिएन, हामीले हिसाब निकाल्दा पनि जनपथ माबिमा प्रति विद्यार्थी ३० हजार र अरुणोदय आधारभूत विद्यालयमा प्रति विद्यार्थी ५२ हजार रुपैयाँ लगानी देखियो’ उनले भने, ‘तर वडा कार्यालयमा नागकिरता बनाउन आउँदा निवेदन लेख्न नसक्ने अवस्थाको देखियो, त्यो अवस्थाको पनि अन्त्य गर्न शिक्षाको सुधार अहिले गर्नैपर्ने भएपछि अभियान चलाएका छौं ।’
पहिलो कार्यकालमा भौतिक विकास निर्माणलाई ध्यान दिए पनि दोस्रो कार्यकालमा शिक्षा, स्वास्थ्य, बालबालिका, पिछडिएको वर्गका क्षेत्रका कामलाई प्राथमिकता दिएको उनको भनाइ छ ।
शिक्षा सुधार अभियानअन्तर्गत विराटनगर–११ स्थित जनपथ माध्यामिक विद्यालयमा अभिभावक अन्तरक्रिया गरिएको छ । विद्यालयको गुणस्तर सुधारमा अभिभावकको निगरानी, सुझाव र सहयोग आवश्यक रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रोहित कोइरालाले बताए । उनले विद्यालयको गुणस्तर सुधारका लागि विभिन्न चरणमा व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रमहरू गरिरहेको उल्लेख गरे ।
विराटनगर महानगरपालिका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले शिक्षामा सुधार नभई अरु क्षेत्रको विकास सम्भव नभएको बताए । उनले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि बालबालिकालाई नियमित विालय पठाउन, विद्यालयको निगरानी गर्न, आफ्ना बालबालिकाको पठनपाठनका विषयमा विद्यालयमा शिक्षकहरूसँग सोधपुछ गर्न अभिभावकहरूलाई आग्रह गरे ।
विराटनगर महानगरपालिकाको तथ्यांकअनुसार महानगरभित्रका विद्यालयहरूमा ७० हजार बालबालिकाले शिक्षा लिइरहेका छन् । जसमा संस्थागत विद्यालयहरूमा ४० हजार र सामुदायिक विद्यालयहरूमा ३० हजार विद्यार्थी अध्ययनरत छन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरप्रति अभिभावक विश्वस्त नहुँदा सामुदायिकमा भन्दा संस्थागत विद्यालयमा चर्को शुल्क तिरेर विद्यार्थी बढाउन अभिभावक बाध्य भएको भट्टराईले बताए ।
कार्यक्रममा अभिभापक सन्तोष साह, विद्यालयका प्रधानाध्यापक हरि पराजुली लगायतका वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय तह र राजनीतिक दलहरू सक्रिय हुन आवश्यक रहेको धारणा राखेका थिए ।
View : 309
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved