षडानन्द नगरपालिका – १३ का वडाध्यक्ष पदमबहादुर तामाङ (सेतो भेष्ट) र वडा सचिव ध्यानबहादुर तामाङ ।
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका वडा नं १३ (माथिल्लो बोया) प्राकृतिक रूपमा मनमोहक र सुन्दर छ, तर आधुनिक सुविधा र यातायातको पहुँचका दृष्टिले यो वडा जिल्लाकै ‘कर्णाली’ बन्न पुगेको छ ।
वडाध्यक्ष पदमबहादुर तामाङका अनुसार, सडक सञ्जालको दुरवस्था र विकास बजेटको चरम अभावले गर्दा यहाँका बासिन्दाले दैनिक जीवनमा सास्ती भोगिरहेका छन् ।
वडामा सडकको नाममा कच्ची ट्रयाकहरू मात्र छन्, जसलाई स्थानीयले श्रमदान र वडा तथा नगरपालिकाको न्यून बजेटबाट निर्माण गरेका हुन् ।
पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको कार्यकालबाहेक प्रदेश र संघीय सरकारबाट यहाँ बजेट विनियोजन नभएको स्थानीयको गुनासो छ ।
आर्थिक वर्ष २०८३–८४ का लागि प्राप्त ३२ लाख ९८ हजार २९४ रुपैयाँको बजेट सडक मर्मत र विकासका लागि निकै न्यून रहेको वडाध्यक्ष तामाङ बताउँछन् ।
यातायातको असुविधाले गर्दा महँगो भाडा तिरेर ट्याक्सी (फोरह्वील बोलेरो) रिजर्भ गर्नुपर्ने बाध्यता छ भने वर्षायाममा आवागमन ठप्पप्रायः हुन्छ ।
भोजपुरको यो वडामा सिद्धदेवी, सरस्वती, सिंहदेवी र बिहीबारे गरी चारवटा आधारभूत विद्यालयहरू छन् ।
कक्षा ९ देखि भने वडा नं १४ काे महेन्द्रोदय माविमा जानु पर्छ जहाँ कक्षा १२ सम्म पढाइ हुन्छ ।
स्वास्थ्य चौकी भवन निर्माणा भैरहेकाे छ भनेवडा कार्यालयको आफ्नै भवन नहुँदा मुखिया टोल विकास संस्थाको कोठाबाट सेवा प्रवाह भइरहेको छ ।
बोया प्राकृतिक दृश्यावलोकनको दृष्टिले भने धनी छ ।
यहाँका दुई हजार मिटर अग्लो देवीडाँडा (भीरथाप्ला), महभीर, रमिते, मानेभीर लगायतका स्थलहरू करोडौं खर्चेर बनाइने कृत्रिम भ्यूटावर भन्दा कम छैनन् ।
साथै, सोतीबारीमा अवस्थित विश्वशान्ति छोलिङ र उर्गेन रिङछेन छोलिङ गुम्बा धार्मिक पर्यटनका केन्द्र हुन् ।
विशेषगरी, शान्ति पार्कमा राखिएका चेरञ्जी, गौतम बुद्ध र गुरु रिम्पोछेका मूर्तिहरू नेपालमै दुर्लभ मानिन्छन् ।
सम्पन्न प्राकृतिक स्रोतसाधन र पर्यटकीय सम्भावनाका बाबजुद सडक, भौतिक पूर्वाधार र बजेटको अभावले गर्दा बोया बासिन्दाहरू आधारभूत सुविधाबाट वञ्चित छन् ।
गाउँबाट बसाइँसराइको क्रम बढ्दै जाँदा र खेतीपाती कम हुँदा परम्परागत गोरेटो बाटोहरू मासिंदै गएका छन्, जसले स्थानीय स्तरमा पैदल हिंड्न समेत थप कठिनाइ सिर्जना गरेको छ ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved