सुनसरी : वृत्ति बिकासको माग गर्दै सामुहिक राजीनामा गरेर आन्दोलनमा उत्रिएका धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलन फिर्ता भएसँगै चिकित्सकहरू सोमबारबाट काममा फर्किएका छन् । प्रतिष्ठानका पदाधिकारीसँगको वार्तामा तीन बुँदे सहमति भएसँगै चिकित्सकहरु काममा फर्किएका हुन् ।
पदाधिकारी र चिकित्सकबीच भएको वार्तामा २०७२ पुस २० र २०७२ माघ २४ गते करार सेवाका लागि प्रकाशित विज्ञापन बमोजिम आवश्यक प्रक्रिया पुर्याई टुंग्याउने सहमति भएको छ ।
यस्तै अन्तर्वार्ता हुन बाँकी रहेका शिक्षक पदको अन्तर्वार्ता आगामी २०८० पुस २ गतेदेखि सुरु गरी पुस १५ गते सम्ममा सम्पन्न गर्ने सहमति भएको छ । वार्तामा दुवै विज्ञापनको एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बसी नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।
सहमति पत्रमा प्रतिष्ठान व्यवस्थापनले शिक्षक समाज, समाजको सदस्य र कुनै शिक्षकप्रति पूर्वाग्रह नराख्ने र आन्दोलनरत सम्पूर्ण पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू सोमबारदेखिनै स्थगन गरी आ–आˆनो कार्यमा सहभागी हुने उल्लेख छ ।
सहमति पत्रमा शिक्षक कल्याण समाजका तर्फबाट १२ शिक्षक चिकित्सक, प्रतिष्ठानका तर्फबाट उपकुलपति प्राडा प्रह्लाद कार्की, शिक्षाध्यक्ष प्राडा सञ्जीव शर्मा, रजिस्ट्रार सूर्यप्रसाद संग्रौला, अस्पताल निर्देशक जगतनारायण प्रसाद, प्रतिष्ठानका कार्यकारिणी सदस्य ज्ञानेन्द्रबहादुर मल्ल र प्राडा स्मृति कार्कीले हस्ताक्षर गरेका छन् ।
शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै कार्यान्वयन नभए पुनः आन्दोलन थाल्ने चेतावनी दिए । प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको विगत ७ वर्षदेखि पदोन्नति हुन सकेको छैन भने कर्मचारी १५ वर्षदेखि पदोन्नति हुन सकेको छैन ।
View : 290
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved