Biratnagar, Morang, Nepal
२८ भदौ २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

साफ च्यापियनसिप फुटबल : भुटानले माल्दिभ्सलाई हरायो

उद्घोष सम्वाददाता
५ भदौ २०८१, बुधवार

Advertisement

काठमाडौँ, ५ भदौ । राजधानीमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा भुटानले माल्दिभ्सलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ गोलअन्तरले पराजित गरेको हो । यस जीतसँगै समूह ‘बी’ मा रहेका भुटान र भारतले समान तीन/तीन अङ्क जोडेका छन् । पराजित माल्दिभ्स भने अङ्कविहीन छ । यसअघि भारतले पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो । 

भुटानको जितमा जिग्नम दोर्जी र नोवाङ चोपेलले समान एक/एक गोल गरे । यता माल्दिभ्सको लागि भने फिरकले एक गोल फर्काए । 

खेलमा पहिलो अग्रता भुटानले लियो । खेलको २२ औँ मिनेटमा भुटानका जिग्नमले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको ५१औँ मिनेटमा भुटान १० खेलाडीमा समेटिएको थियो ।

गोलकिपर तेञ्जिङले डिबक्स बाहिर बल छोएपछि रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए ।

सोही समयमा प्राप्त फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले बराबरी गोल फर्कायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट प्रहार गरेका बलले जाली चुमेको थियो । 

त्यसपछि खेलको ८९ औँ मिनेटमा भुटानले पुनः अग्रता लियो । भुटानका नोवाङले गोल गर्दै खेललाई २–१ गोलको अग्रतामा ल्याए । त्यसपछि खेलमा अर्को गोल हुन सकेन र अन्तत भुटानको जीत पक्का भयो । 

उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३ बजेदेखि सुरुआत हुनेछ । रासस
 

View : 95

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved