सांकेतिक तस्वीर ।
विराटनगर । प्रत्येक चार वर्षमा आयोजना हुने फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता अबको एक सातापछि सुरू हुँदैछ ।
नेपालसहित विश्वभरका फुटबलप्रेमीहरूलाई रोमाञ्चित तुल्याउँदै जेठ २८ गते (जुन ११) मा सुरू हुने सन् २०२६ को विश्वकप सहभागिता संख्याका दृष्टिले इतिहासकै सबैभन्दा ठूलो सावित हुँदैछ ।
यसपटक अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने यो प्रतियोगिता साउन (जुलाई १९) सम्म अर्थात् ३९ दिनसम्म चल्नेछ ।
उद्घाटन खेल मेक्सिको सिटीको ऐतिहासिक अज्टेका रंगशालामा हुनेछ भने फाइनल अमेरिका, न्यूजर्सीस्थित मेटलाइफ रङ्गशालामा हुने तय भएको छ ।
आयोजक तीनै देश स्वतः विश्वकपमा छनोट भएका छन् भने बाँकी ४५ देश छनोट चरण पार गरेर विश्वकपमा सहभागी हुँदैछन् ।
यस संस्करणमा अहिलेसम्मकै सबैभन्दा बढी, कुल ४८ देश सहभागी हुनेछन् । यसअघि ३२ राष्ट्रले मात्रै खेल्ने विश्वकपमा यसपटक संख्या बढेको छ । यसपटकका खेलहरू तीन देशका १६ शहरमा हुनेछन् ।
अमेरिकाका ११ शहर, मेक्सिकोमा ३ र क्यानडामा २ शहरमा खेल सञ्चालन हुनेछ ।
अमेरिकाको एटलान्टा, बोस्टन, डलास, ह्युस्टन, क्यान्सस सिटी, लस एन्जलस, मियामी, न्यूयोर्क–न्यु जर्सी, फिलाडेल्फिया, सान फ्रान्सिस्को बे एरिया र सियाटलमा खेल हुनेछ भने मेक्सिकोमा अज्टेका, ग्वाडालाजारा र मोन्टेरे रंगशाला प्रयोग गरिनेछन् भने क्यानडामा टोरन्टो र भ्यानकुभर (बीसी प्लेस) मा खेल हुनेछ ।
फिफाले कुल ४८ देशलाई १२ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहमा ४–४ टोली छन् ।
समूह चरणपछि नयाँ संरचनाअनुसार प्रत्येक समूहका शीर्ष २ टोली र उत्कृष्ट तेस्रो स्थान प्राप्त गर्ने ८ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।
त्यसपछि राउन्ड अफ ३२, प्रि–क्वाटरफाइनल, क्वाटरफाइनल, सेमिफाइनल हुँदै फाइनल खेल हुनेछ ।
यसपटकको समूह विभाजन अनुसार समूह ए मा मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक छन् ।
समूह बी मा क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, कतार र स्वीट्जरल्यान्ड छन् ।
समूह सी मा ब्राजिल, मोरोक्को, हाइटी र स्कटल्यान्ड छन् भने समूह डी मा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।
त्यस्तै समूह ई मा जर्मनी, कुरासाओ, आइभरी कोस्ट र इक्वेडर छन् ।
समूह एफ मा नेदरल्यान्ड्स, जापान, स्वीडेन र ट्युनिसिया छन् । समूह जी मा बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड, समूह एच मा स्पेन, केप भर्डे, साउदी अरेबिया र उरूग्वे, समूह आई मा फ्रान्स, सेनेगल, इराक र नर्वे छन् ।
समूह जे मा अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन् भने समूह के मा पोर्चुगल, डीआर कंगो, उज्बेकिस्तान र कोलम्बिया छन् । समूह एल मा इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा छन् ।
विश्वकपमा यसपटक प्रत्येक महादेशबाट प्रतिनिधित्व बढाइएको कारण प्रतियोगिता अझ विश्वव्यापी बनेको टिप्पणी भइरहेको छ । यो पटक चार नयाँ देशले पहिलो पटक विश्वकप खेल्दै ऐतिहासिक उपलब्धि हासिल गर्दैछन् ।
जोर्डन, उज्बेकिस्तान, केप भर्डे र कुरासाओ यी चारै टोलीले आफ्नो महादेशीय छनोट चरण पार गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएका हुन् ।
यसले नयाँ फुटबल शक्तिहरूको उदयको संकेत गर्ने फुटबल पण्डितहरूको टिप्पणी छ ।
विश्वकप इतिहास सन् १९३० बाट सुरू भएको हो र अहिलेसम्म २२ संस्करण सम्पन्न भइसकेका छन् । हालसम्म जम्मा ८ देशले उपाधि जितेका छन् ।
दक्षिण अमेरिकी टोली ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ भने जर्मनी र इटालीले ४–४ पटक उपाधि जितेका छन् ।
अर्जेन्टिनाले ३ पटक, उरूग्वे र फ्रान्सले २–२ पटक तथा इंग्ल्यान्ड र स्पेनले १–१ पटक उपाधि जितेका छन् ।
अहिलेसम्म दक्षिण अमेरिका र युरोप बाहेक अन्य कुनै महादेशले विश्वकप जित्न सकेको छैन ।
यसपटक पुरस्कार राशि पनि इतिहासकै उच्च स्तरमा पुर्याइएको छ ।
कुल ६५ करोड ५० लाख अमेरिकी डलर पुरस्कार रकम स्वीकृत गरिएको छ ।
विजेता टोलीले करिब ५करोड डलर प्राप्त गर्नेछ भने उपविजेताले ३ करोड ३० लाख, तेस्रो स्थानले २ करोड ९० लाख र चौथो स्थानले २ करोड ७० लाख डलर पाउनेछन् ।
क्वाटरफाइनलमा पुग्ने टोलीले १ करोड ९० लाख, १६ भित्रमा मा पुग्नेले १ करोड ५० लाख र ३२ भित्रबाट बाहिरिनेले १ करोड १० लाख डलर पाउनेछन् ।
समूह चरणमै बाहिरिने टोलीले पनि ९० लाख डलर पाउनेछन् । साथै प्रत्येक सहभागी देशलाई तयारी खर्चका रूपमा थप १ करोड ५० लाख डलर दिइएको छ ।
यसपटक उत्तर अमेरिकामा खेल हुने भएकाले नेपालमा खेलको समय प्रायः राति वा बिहान सबेरै पर्नेछ । नेपालमा खेलहरू सामान्यतया राति १२ः४५ देखि विहान १०ः४५ बजेसम्म विभिन्न समयमा सञ्चालन हुनेछन् ।
फरक–फरक समय क्षेत्रका कारण धेरै खेलहरू अबेर राति वा बिहानै प्रसारण हुनेछन् ।
नेपालमा विश्वकप २०२६ का खेलहरू हिमालय स्पोट्र्स टिभी र डीजीओ ओटीटी प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण हुनेछन् ।
View : 95
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved