विराटनगर । नेकपा एमाले मोरङ संगठन कमिटीका अध्यक्ष बाबुराम कार्कीले आगामी फागुन महिनाभित्रै पार्टीको जिल्ला अधिवेशन गर्ने कुरामा आफू स्पष्ट रहेको बताएका छन् । उनले गत मंसिर २० गते ११ औं जिल्ला अधिवेशनको तयारी गरेपनि सोही समयमा स्थानीय तहको उपनिर्वाचन परेका कारण अधिवेशन हुन नसकेको प्रष्टिकरण दिए ।
सोमबार पार्टी कार्यालय पाञ्चालीमा आयोजित प्रचार तथा प्रकाशन विभागको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले अधिवेशनको तयारीका लागि पार्टीले आवश्यक तयारी गरिरहेको जानकारी दिए ।
‘हामीले जिल्ला अधिवेशन गर्नैपर्छ, मंसिर २० मा गर्ने भनिएको थियो, १८ गते ग्रामथानमा चुनाव हुने भयो, प्राथमिकतामा उपनिर्वाच प¥यो’ अध्यक्ष कार्कीले भने, ‘फागुन १५ मा स्ववियुको निर्वाचन परेकोले अगाडि केही कठिनाई हुनसक्छ, फागुनको अन्तिम सातामा अधिवेशन गर्नुपर्छ भन्ने हाम्रो धारणा छ, अधिवेशन गर्छौं ।’
अधिवेशनको तयारीका लागि पार्टी सदस्यहरूको विवरण अद्यावधिक गरेर केन्द्रमा पठाइसकेको अध्यक्ष कार्कीले बताए । पार्टी सदस्यहरूको नाम प्राप्त भएपछि अधिवेशनको प्रक्रिया अघि बढ्ने जानकारी दिए ।
उनले पार्टीका हरेक निर्णयलाई हरेक कार्यकर्ताले जिम्मेवारीमा रुपान्तरण गर्नुपर्ने बताए । अहिले पार्टीले जरा केन्द्रित अभियान सुरु गरेको र जिल्ला कमिटीका १५९ जना सदस्यलाई वडावडामा खटाइसकेको बताए ।
एमाले मोरङका प्रचार तथा प्रकाशन विभाग प्रमुख सन्तोष बान्तवाले विभागको आयोजनामा माघ १९ गते सुन्दरहरैंचाको विराटचोकमा जिल्लास्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गरिने जानकारी दिए ।
प्रशिक्षणमा स्थानीय तहका पार्टी कमिटीका अध्यक्ष, सचिव र प्रचार विभाग हेर्ने स्थानीय नेता लगायतको सहभागिता रहने जनाइएको छ ।
View : 405
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved