तेह्रथुम । मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तमोर नदीस्थित तेह्रथुम र पाँचथर जोड्ने क्षतिग्रस्त पुल निर्माणका लागि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरुले पहल सुरु गरेका छन् ।
तेह्रथुमको आठराई गाउँपालिका–६ र पाँचथरको फिदिम नगरपालिका–४ मा पर्ने उक्त पुलको आठराइतर्फको भागमा गत वर्षको असोज १२ गते तमोर नदीमा आएको बाढीका कारण क्षति भएको थियो ।
प्राविधिकसहितको स्थलगत अवलोकनपछि पुलमा समस्या देखिएको उल्लेख गर्दै चाँडो मर्मत आवश्यक भएको तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सीता गुरुङले बताइन् ।
निरीक्षणपछि दुवै जिल्लाका विपद् व्यवस्थापन समितिले तत्काल संरक्षणका लागि काम थाल्न सम्बन्धित निकायमा अनुरोध गर्दै थप पहलकदमी थाल्ने निर्णय गरेको टोलीमा रहेका तेह्रथुमबाट निर्वाचित प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले बताए । यस वर्षको वर्षामा पुलमा थप क्षति हुनसक्ने आकलन गरिएको उक्त टोलीको निष्कर्ष छ ।
त्यसैले मनसुन सुरु हुनअगावै पुलको क्षतिग्रस्त भागको मर्मत गर्न पहल थालिएको आठराई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमकले बताए ।
टोलीमा प्रतिनिधिसभा सदस्य गुरुङसँगै प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईं, जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमानसिं इस्वो, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बे, फिदिम नगरपालिका पाँचथरका प्रमुख मित्रप्रसाद काफ्ले, तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालगायत थिए । रासस
View : 355
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved