सुनसरी । विश्वआदर्श कलेज इटहरीमा जारी तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो खेलमा इटहरीको विश्वआदर्शले सुस्मागोदावरी कलेजलाई १ सय ९३ रनको विशाल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो ।
विश्वआदर्शले दुई खेलमा सत्प्रतिशत जीत निकाल्दै सेमिफाइनल प्रवेश गर्दा सुस्मागोदावरीसहित उक्त समूहमा रहेको कस्तुरी कलेज प्रतियोगिताबाट बाहिरिएको छ ।
इटहरीस्थित जनता क्रिकेट पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३३ रनको विशाल योगफल जोडेको थियो । विश्वआदर्शका लागि सकुशल श्रेष्ठले शतकीय पारी खेले ।
बिस्फोटक ब्याटिङ गरेका उनले ६२ बलको सामना गर्दै १० छक्का र ६ चौकाको मदतमा १ सय २० रन बनाए ।
पहिलो खेलमा शतक बनाएका रोशन खत्रीले ३९ र आकाश सर्राफले १४ रनको योगदान दिए ।
बलिङतर्फ सुस्मागोदावरीका रोशन पुरीले २ विकेट तथा सागर डोटेलले १ विकेट लिए ।
जवाफमा २ सय ३४ रनको बिशाल लक्ष्य पछ्याउने क्रममा सुस्मागोदावरी १३ दशमलव २ बलमा ४० रनमा समेटियो ।
सुस्माका तीन जना ब्याटरले खाता नै खोल्न सकेनन् भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । खेलको प्लेयर अफ द म्याच विश्वआदर्शका सकुशल श्रेष्ठ घोषित भए ।
मंगलबार नै भएको दोस्रो खेलमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चल इन्जिनियरिङले १७ ओभर खेल्दै १ सय २२ रनमा समेटिएको थियो । पूर्वाञ्चलका लागि काशीराम सञ्जेलले ४९ रन र निशम कर्णले ११ रन बनाए ।
बलिङतर्फ महेन्द्र मोरङका अखिलेश कोइरालाले ३ विकेट लिंदा प्रतीक पोखरेल, सन्दीप ढकाल र अटल शाहले समान २–२ विकेट लिए । बाँकी एक विकेट सागर मोचीको नाममा रह्यो ।
जवाफमा १ सय २३ रनको विजयी लक्ष्य पछ्याउने क्रममा महेन्द्र मोरङले १६ दशमलव ४ बलमा ४ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
महेन्द्र मोरङका अटल शाहले ५२ रन बनाउँदा सागर मोचीले ३५ र बियुष बस्नेतले १० रनको योगदान दिए ।
बलिङतर्फ पूर्वाञ्चलका कासिराम सञ्जेल, अजित अटल, रुपेश भट्टराई र ज्ञानेन्द्रप्रसाद यादवले समान १–१ विकेट लिए । खेलको प्लेयरअफ द म्याच महेन्द्र मोरङका अटल शाह घोषित भए । यो जितसँगै समूह ‘डी’ मा रहेको महेन्द्र मोरङले महत्वपूर्ण २ अंक हात पारेको छ ।
पूर्वाञ्चल इञ्जिनियरिङले लिग चरणको आफ्नो दोस्रो खेलमा बुधबार झापा दमकको आस्था कलेजको सामना गर्नेछ ।
बुधबार नै हुने दोस्रो खेलमा जनता बहुमुखी क्याम्पस इटहरी र नमुना कलेजबीच प्रतिस्पर्धा हुने आयोजक इटहरी आदर्श जाइन्टका अध्यक्ष भुपाल लुइटेलले जानकारी दिए ।
समूह ‘ए’ मा रहेको कोशी प्रिमियर लिग विजेता नमुना ब्लाष्टरको टिम नमुना कलेज उद्घाटन खेलमा विश्वआदर्श कलेजको ‘बी’ टिमलाई पराजित गर्दै महत्वपूर्ण २ अंकका साथ शीर्ष स्थानमा रहेको छ ।
पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १२ कलेजका टोलीहरुको सहभागिता रहेको छ । ती टिमहरुलाई चार समूहमा बिभाजन गरिएको छ ।
View : 98
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved