Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

सिनामंगल घटनाका मृतक माझीको परिवारलाई सहयोग

उद्‌घोष सम्वाददाता
१६ मंसिर २०८१, आइतवार

सुनसरी । काठमाडौंको सिनामंगलस्थित एक होटलमा गत आइतबार मृत भेटिएका माझी दम्पतीको परिवारलाई दुहबी नगरपालिका वडा नम्बर ८ को कार्यालयले राहत स्वरूप ५० हजार रूपैयाँ हस्तान्तरण गरेको छ । 

सुनसरी दुहबी– ८ रनिगाउँ निवासी ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी क्यानाडाबाट फर्किएको भोलिपल्टै मंसिर ९ गते काठमाडौंको सिनामङ्गलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । वडाध्यक्ष तारिकचन्द्र सरदारसहित वडा कार्यालयको टोली मृतक परिवारका आफन्तलाई भेटेर ५० हजार रूपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

मृतक रमेश र शर्मिलाका ६ वर्षका छोरालाई माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गराउने वडाध्यक्ष सरदारले प्रतिबद्धता जनाएका छन् ।

सन २०२२ मा क्यानडा गएका उनीहरू दुई वर्षपछि नेपाल फर्केका थिए । काठमाडौं ओर्लिएर जन्मभूमि होटलमा बसेका उनीहरू भोलिपल्टै झुण्डिएको अवस्थामा भेटिएका थिए । 

रमेश परिवारका एक्लो छोरा हुन् । एक जना दिदीसमेत भएको रमेशको परिवार मध्यम वर्गका हुन् । उनका बुबा सफारी चालाएर जिविकोपार्जन गर्दै आएका छन् । 

रमेश र मोरङको ग्रामथान–३ रंगटोली निवासी शर्मिलासँग २०६६ सालमा विवाह भएको थियो । 

बुबाले सफारी कुदाएर र तरकारी बेचेको पैसाले राम्रो शिक्षा पाएका रमेशले मोरङको दुलारीमा रहेको इटहरी इन्टरनेशनल कलेजबाट कम्प्युटर साइन्समा डिप्लोमा गरेका थिए । 

रमेश पढ्न गएको ६ महिनापछि श्रीमती शर्मिला पनि चार वर्षको छोरालाई छोडेर क्यानडा उडेकी थिइन् । 

केही पारिवारिक कारणले आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेपनि एकिन हुन सकेको छैन । 

घटनाको जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलीले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

View : 92

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved