Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

मन्त्री फेरिने हलचल चलिरहँदा कांग्रेसमा थमौतीको कसरत

उद्‌घोष संवाददाता
२० साउन २०८२, मङ्गलवार

विराटनगर । कोशी सरकार गठबन्धनको अर्को दल नेपाली कांग्रेसभित्र पनि मन्त्री हेरफेरको कसरत चलिरहेको छ । तर, कांग्रेसभित्र मन्त्री फेर्ने समय असोजसम्म तन्किन सक्ने नेताहरु बताउँछन् । यसबीचमा अहिले मन्त्री रहेकाहरुले आफ्नै निरन्तरताको प्रयास जारी राखेका छन् । 

यसरी निरन्तरताको प्रयास गरिरहेका मन्त्री हुन् भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राई । शेखर कोइराला पक्षको भागमा रहेको स्वास्थ्य मन्त्रालयकोसमेत जिम्मा लिएका मन्त्री राईले आफ्नो समूह (सिटौला समूह) ले आफैंलाई निरन्तरता दिने भएको भनेर सुनाउने गरेको सांसदहरु बताउँछन् ।

प्रदेशका पार्टी महामन्त्री उनले सिटौला समूहबाट निरन्तरता पाउँदा केन्द्रीय सदस्य रहेका भीम पराजुलीलाई के जिम्मेवारी दिने भन्ने बहस उक्त समूहमा चर्को छ ।

भूपेन्द्रलाई मन्त्रीमा निरन्तरता दिन कोशीमा संसदीय दलको नेता परिवर्तन हुनसक्ने सम्भावना रहेको पनि नेताहरु बताउँछन् । 

अहिलेका नेता उद्धव थापाको भूमिका प्रभावहीन भएकाले त्यस्तो चलखेल हुनसक्ने तर यो केन्द्रकै निर्णयमा निर्भर रहने नेताहरु बताउँछन् । 

‘यदि संसदीय दलको नेता फेरेर भीम पराजुलीलाई नेता बनाउने सहमति संस्थापनमा भयो भने भूपेन्द्रले निरन्तरता पाउने सम्भावना हुन्छ’, कांग्रेस कोशी संसदीय दलका एक नेताले भने ‘अहिले त्यस्तो भइहाल्ला भन्ने लाग्दैन । त्यसैले भीम पराजुली अथवा प्रदीप सुनुवारले नेतृत्व गरेर सरकारमा जाने, भूपेन्द्रले बिदा लिने हुनसक्छ ।’ यद्यपि भूपेन्द्र राई भने आफ्नो निरन्तरताका लागि शक्ति केन्द्र धाइरहेको नेताहरु बताउँछन् । 

कांग्रेस कोशीमा संस्थापनका दुई गुट र संस्थापनइतर गरी तीन गुटलाई भाग मिलाएर नयाँ मन्त्री पठाउनुपर्ने बाध्यता छ । 

सभापति शेरबहादुर देउवा समूहबाट प्रदीपकुमार सुनुवार, हिमाल कार्की, ज्ञानेन्द्र कार्कीको दबाबमा सोही समूहबाट इस्राइल मन्सुरी मन्त्री बन्न दौडधुपमा छन् । त्यस्तै संस्थापन इतर (शेखर कोइराला) समूहबाट मानबहादुर लिम्बू, गोविन्द गिरी, इन्दिरा थापालगायतका सांसद मन्त्री बन्ने दौडमा छन् ।  

संस्थापनकै कृष्णप्रसाद सिटौला समूहबाट भीम पराजुली र गोपाल तामाङ मन्त्री बन्ने आकंक्षामा छन् ।

कोशीमा अहिले कांग्रेसबाट भूपेन्द्र राईबाहेक सदानन्द मण्डल वन, वातावरण तथा पर्यटनमन्त्री छन् भने खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारीमन्त्री छन् । 

पर्यटनमन्त्री मण्डल अवैध असुली विवादले बद्नाम बनेका छन् । त्यसैले कांग्रेसमा मन्त्री फेर्न तीव्र दबाब छ ।

View : 647

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved