Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

दुर्घटना जोखिम क्षेत्रमा परिणत हुँदै विराटनगरको बरगाछी चोक

उद्‌घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । विराटनगरको बरगाछी चोक दुर्घटनाको ठूलो जोखिम क्षेत्रको रुपमा स्थापित हुँदै गएको छ । आइतबार बिहान भएको ट्रक र स्कुटी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् । 

दुर्घटनामा स्कुटीमा सवार दुहबी –९ का २५ बर्षीय नगेन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  उनी इलाका प्रशासन कार्यालय रंगेलीका कर्मचारी रहेको बताइएको छ । स्कुटीमा पछाडि सवार मृतक चौधरीकी १६ बर्षीया भतिजि सोस्था चौधरीसमेत घाइते भएकी छन् । घटनामा ट्रक चालक चितवन राप्ती नगरपालिका-११ का ४१ बर्षीय शेरबहादुर राईसमेत घाइते भएका छन् । 

बा प्र ०३–००१ (ख) १४११ नम्बरको ट्रक र को ३६ प २८८९ नम्बरको स्कुटी ठोक्किदा दुर्घटना भएको हो । दुईजना सवार स्कुटीले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्ने क्रममा ट्रकले ठक्कर दिएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

दुर्घटनापछि ट्रकले स्कुटीलाई घचेट्दै लगेको प्रत्यक्षदर्शी बरगाछीका विश्वनाथ भगतले जानकारी दिएका छन् । दुर्घटनापछि उत्तेजित भीडले ट्रकमा आगजनी गरेका थिए । आगलागीका कारण  ट्रकको अगाडिको भाग जलेको छ भने ट्रकमुनि परेको स्कुटी समेत पूरै क्षतिग्रस्त भएको छ ।

घटनास्थल पुगेको विराटनगर महानगरपालिकाको बारुणयन्त्रले आगो निभाएको थियो भने प्रहरीले ट्रक मुनिबाट स्कुटी निकालेको थियो । अव्यवस्थित चोक र सडकको दुरावस्थाका कारण बरगाछीमा दुर्घटना भइरहने गरेको स्थानीय नवराज बिष्टले बताएका छन् । 

बितेको तीन बर्षमा सो चोकको बीच सडकमा राखिएका दुई शालिक र स्तम्भहरु एकै प्रकृतिको दुर्घटनाका कारण ढलिसकेका छन् । सो ठाउँमा २०७० सालमा लायन्स क्लब विराटनगर ग्रिन सिटीले बनाएको लायन्सस्तम्भ २०७७ बैशाख २१ गते ना ७ ख १४३७ नम्बरको ट्रक दुर्घटनाका कारण ढलेको थियो ।

सो घटनामा उत्तरबाट तीब्र गतिमा आएको ट्रकले स्तम्भलाई ठक्कर दिएको थियो । त्यसपछि २०७९ सालमा सो ठाउँमा स्वर्गीय कृष्णप्रसाद कोइरालाको शालिक राखिएको थियो । २०८० असोज १८ गते साँझ उत्तरबाट दक्षिणतर्फ तीब्र गतिमा आउँदै गरेको ना ३ ख ४५७९ नम्बरको ट्रकको ठक्करका कारण सो शालिकसमेत ढलेको थियो ।

View : 3258

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved