विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेशसभालाई सम्बोधन गर्दैछन् । सभालाई प्रधानमन्त्रीले दिउँसो २ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएलगत्तैदेखि मुख्यमन्त्रीविरूद्ध दबाब बढाएका दुई विपक्षी दल माओवादी र एकीकृत समाजवादीले बैठक बहिष्कारको चेतावनी दिए ।
मुलुकका कार्यकारी प्रमुखले प्रदेशसभामा गर्ने सम्बोधनको मौका छोपेर दुई दलले मुख्यमन्त्री हिक्मत कार्कीलाई यस्तो चेतावनी दिएका हुन् । मुख्यमन्त्रीलाई ‘तह लगाउने’ उपाय खोजिरहेका दुई दलले यो मौकाको सदुपयोग गर्दै मुख्यमन्त्री कार्कीलाई क्षमा माग्ने तहमा पुर्याएका छन् ।
मुख्य विपक्षी दल माओवादी केन्द्र र अर्को विपक्षी एकीकृत समाजवादीले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी दिएर मुख्यमन्त्रीलाई गलाउने प्रयास सोमबार राति अबेरसम्म जारी राखेका थिए ।
प्रधानमन्त्री उपस्थित भएर सम्बोधन गर्ने कार्यक्रम विपक्षी दलहरूले बहिष्कार गर्ने चेतावनी दिएपछि सोमबार दिनभरी मुख्यमन्त्री हिक्मत कार्कीसहितका सत्तारूढ एमाले नेताहरू विपक्षी फकाउने दौडधुपमा व्यस्त रहे ।
कांग्रेससँगको सहकार्यले संख्यात्मक रूपमा सुविधाजनक अवस्थामा पुगेका मुख्यमन्त्री कार्कीले आफूहरूको कुरै नसुनेको, आफूहरूले उठाएका विषयलाई बहुमतको बलमा वेवास्ता गरेको अनुभूतिमा यी दुई वाम दल छन् । आइतबारको प्रदेशसभा बैठकमा माओवादी नेता इन्द्र आङ्बोले ‘मुख्यमन्त्रीको यही कार्यशैली कायम रहे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा आफूहरू उपस्थित हुन बाध्य नहुने’ चेतावनी दिएका थिए ।
प्रदेशसभामा आङ्बोले दिएको चेतावनीलाई सामान्य रूपमा लिएका एमाले नेताहरू त्यतिबेला दबाबमा परे, जब सोमबार बिहानै प्रमुख सचेतक विदुर लिंथेपमार्फत उही सन्देश उनीहरूले पाए ।
माओवादी र एकीकृत समाजवादीका नेताहरूले एमाले प्रमुख सचेतक लिंथेपलाई ‘मुख्यमन्त्रीको अहिलेकै रवैया कायम रहने हो भने प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम बहिष्कार गर्ने’ बताएका थिए ।
ती दुवै दलको समान धारणा थियो ‘मुख्यमन्त्रीले विपक्षीलाई बेवास्ता गर्दै आएका छन् । विपक्षीको आवाजलाई सम्बोधन गर्न कुनै चासो दिएका छैनन् । विपक्षीले प्रदेशसभामा बोल्दा मुख्यमन्त्री सधैँ अनुपस्थित रहने गरेका छन् ।
पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा ओली आफै अनुपस्थित रहेका थिए । यस्तो अवस्थामा हामी किन उपस्थित हुने ?’
प्रमुख सचेतक लिंथेपले माओवादी र एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई सन्देश पठाएको केहीबेरमै पूर्व मुख्यमन्त्री राजेन्द्र राईलाई फोन आएको थियो । त्यसक्रममा कार्कीले राईलाई प्रदेशसभाको बैठक बहिष्कार नगर्न अनुरोध गरेका थिए ।
‘प्रमुख सचेतकमार्फत हाम्रो कुरा पठाएपछि मुख्यमन्त्रीजीको फोन आएको छ’, पूर्व मुख्यमन्त्री राईले भने ‘त्यसक्रममा उहाँले बैठक बहिष्कार नगरिदिन अनुरोध गर्नुभयो । मैले हाम्रो न्यूनतम दुई शर्त छन् भनेर आफ्नो शर्तहरू राखेँ ।’ राईलाई फोन गरेको केहीबेरमै मुख्यमन्त्रीले माओवादी नेता आङ्बोलाई पनि गरेका थिए । तर, आङ्बोले आफू बैठकमा रहेको र पछि कुरा गर्ने भनेको जानकारी दिएका थिए । त्यसपछि मुख्यमन्त्री कार्की र आङ्बोबीच साँझ फोनमा लामो कुराकानी भएको थियो ।
माओवादी र एकीकृत समाजवादीका नेताहरूले मुख्यमन्त्री कार्र्की सामु मुख्यतः दुई शर्त अघि सारेका थिए । पहिलो मुख्यमन्त्रीले क्षमायाचना गर्नुपर्ने थियो भने दोस्रो प्रधानमन्त्रीले मंगलबार विपक्षीप्रति घोचपेच नगरी बोल्ने ग्यारेन्टी गर्नुपर्ने भन्ने थियो ।
कुराकानीका क्रममा मुख्यमन्त्रीले ती दुवै शर्त मान्ने बताएको राई र आङ्बोले जानकारी दिए ।
‘मैले कुन सार्वजनिक ठाउँमा माफी माग्नुपर्छ म तयार छु’ आङ्बोसँग कार्कीले भनेका थिए ‘अब तपाईहरूसँग सल्लाह गरेरै अघि बढ्छु, बैठकमा आइदिनु पर्यो ।’ प्रधानमन्त्रीबाट अप्रिय अभिव्यक्ति नआउने कुराको ग्यारेन्टी आफूले गर्ने मुख्यमन्त्री कार्कीले वचन दिएका थिए ।
पूर्व मुख्यमन्त्री राईसँगको टेलिफोन कुराकानीमा पनि मुख्यमन्त्रीले सोही अभिव्यक्ति दिएका थिए । ‘प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा महत्वको विषय हो । यति महत्वको कुराबारे मुख्यमन्त्री र सभामुखले दलका नेतासहित मिटिङ राख्नुपर्ने थियो । उपस्थितिको लागि अनुरोध गर्नुपर्ने थियो । हाम्रो अन्तको काम मिलाउन अनुरोध गर्नुपर्ने थियो । हाम्रो काम छाड्न नमिल्ने भए अर्को दिन प्रमको समय मिलाउन अनुरोध हामीले गथ्र्यौं होला’ राईले कार्कीलाई भनेका थिए ।
जवाफमा मुख्यमन्त्री कार्कीले ‘यसपटक गल्ती भयो’ भन्दै क्षमा मागेका थिए । अर्को शर्तमा पनि मुख्यमन्त्रीले नरम कुरा गरेका थिए ।
प्रदेशसभामा आएर गठबन्धनभन्दा बाहिरका पार्टीलाई ‘प्रधानमन्त्रीले घोचपेच गर्ने र तितो बोल्नु भएन’ भन्ने राईको शर्त आफूले प्रधानमन्त्रीलाई पठाइसकेको र फेरि सम्झाउने मुख्यमन्त्रीले बताएका थिए ।
मुख्यमन्त्री कार्कीलाई राईले भनेका थिए ‘यदि तपाई र प्रधानमन्त्रीको साइडबाट ग्यारेन्टी हुन्छ भने हामी विपक्षीहरू यसबारे सोच्न सक्छौं । तर, प्रधानमन्त्रीले तितो बोले बीचैमा बैठक छाडेर हिंड्ने छौं ।’
त्यसक्रममा मुख्यमन्त्री कार्र्कीले ‘प्रधानमन्त्रीले परिस्थितिले संविधान मान्ने दलहरू एक हुनुपर्ने अवस्थामा तितोपिरो गर्नु हुँदैन भन्नु भएको छ’ भनेर राईलाई आश्वस्त पार्ने प्रयास गरेका थिए ।
मुख्यमन्त्री र विपक्षी नेताहरूबीच सोमबार विभिन्न चरणमा कुराकानी भएको र विपक्षी दलहरू प्रधानमन्त्रीको सम्बोधनमा सहभागी हुने सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।
‘उहाँहरूले केही असन्तोष राख्नुभएको छ, तिनको सम्बोधन गर्ने प्रतिबद्धता मुख्यमन्त्रीले जनाइसक्नुभएको छ’ ती मन्त्रीले भने ‘राजनीतिक विषय हो । यसलाई हल गरिन्छ । प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा उहाँहरू उपस्थित बन्नुहुन्छ ।’
एमालेका प्रमुख सचेतक विदुर लिंथेपले पनि विपक्षी दलहरू बैठकमा सहभागी हुने बताए । ‘मैले मेरो तर्फबाट कुरा गरेको छु, नेतृत्व तहमा पनि कुराकानी भएको छ, भइरहेको छ’ लिंथेपले भने ।
माओवादी नेता आङ्बोले मंगलबार विहान विपक्षी दलहरुको बैठक बसेर प्रदेशसभा वैठकमा सहभागी हुने वा नहुने निर्णय लिने जानकारी दिएका छन् ।
मुख्य विपक्षी माओवादीले माघ २४ मा प्रतिनिधिसभामा भएको घटनाको बदला लिन कोशीमा प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गर्ने चेतावनी सरकारलाई पठाएको थियो ।
माघ २४ मा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्दा प्रधानमन्त्री ओली अनुपस्थित रहेको घटनाको बदला लिने चेतावनी माओवादीले दिएको थियो ।
सोमबार साँझसम्म पनि माओवादी र एकीकृत समाजवादीले कार्यक्रममा सहभागी हुने कि नहुने निर्णय लिइनसकेको बताइरहेका थिए ।
आइतबार कोशीको प्रदेशसभामा माओवादी संसदीय दलका नेता आङ्बोले बोल्दा मुख्यमन्त्री कार्की अनुपस्थित थिए ।
यसअघि एकीकृत समाजवादीका नेता राजेन्द्र राईले बोल्न थाल्नासाथ प्रदेशसभाबाट बाहिर हिंडेका मुख्यमन्त्री कार्कीले कांग्रेस नेतासमेत रहेका पूर्व मुख्यमन्त्री केदार कार्कीले बोल्दा पनि त्यसै गरेका थिए ।
कांग्रेसका कार्कीलाई मुख्यमन्त्रीबाट विस्थापित गरेर सोही पदमा पुगेका एमालेका कार्कीले आफ्नो मन्तव्य नसुनेपछि केदार कार्कीले पत्रकारहरूलाई प्रदेशसभा परिसरमै भनेका थिए ‘मेरा कुरा सुन्ने हिम्मत मुख्यमन्त्री हिक्मत कार्कीमा छैन, हुँदैन ।’
त्यसो त प्रदेशसभाको जारी अधिवेशनको फागुन २ गतेको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले बोल्ने कार्यसूची थियो । प्रदेशसभा बैठकहरूमा सांसदले उठाएका विभिन्न विषयमा जवाफ दिन मुख्यमन्त्री रोष्ट्रममा पुग्नासाथ एकीकृत समाजवादी दलका नेतासमेत रहेका पूर्व मुख्यमन्त्री राजेन्द्र राई बाहिर निस्किए ।
त्यहाँबाट सोझै आफ्नो कार्यकक्षमा पुगेका उनले आफ्ना सचिवालयका व्यक्तिहरूलाई मुख्यमन्त्रीको मन्तव्य छल्न आफू निस्केको बताएका थिए ।
अनेरास्ववियुमा छँदाका सहयात्री कार्की र राईले यसरी एकअर्काको मन्तव्य सधैँजसो छल्ने गरेका छन् ।
View : 197
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved