Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

यसपालीको दसैँमा चलनचल्तीकै सफा र सुकिलो नोट

उद्घोष सम्वाददाता
२१ भदौ २०८१, शुक्रवार


काठमाडौँ, २१ भदौ । नेपाल राष्ट्र बैंकले यसपटकको दसैँमा सर्वसाधारणका लागि हाल प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने तयारी गरेको छ । राष्ट्र बैंकले विगतका वर्षहरूमा नयाँ नोटको सटही दिने गरेको थियो तर यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता डा डिल्लीराम पोखरेलले सफा र सुकिलो नोटको मौज्दात रहुञ्जेलसम्म नयाँ नोटको सटही नदिने निर्णय राष्ट्र बैंक व्यवस्थापनले गरेको बताए । उनले सटही दिएका नोटको अधिक माग हुने र सटही व्यवस्थापनसमेत झण्झटिलो हुने गरेकोले यस पटक सफा र चलनचल्तीका नोट दिने तयारी गरेको बताए ।
“नोट सटहीका लागि विगत वर्षहरूमा हामीले जसरी दिइरहेका छौँ, त्यसमा केही परिवर्तन भएको छैन । तर यस वर्ष नयाँ नोट नभई सफा र सुकिलो नोट सटही गर्ने निर्णय भएको छ”, पोखरेलले भने, “सुकिलो बैंक नोट कहाँ, कैले, कसरी, कति सटही पाइन्छ ? जस्ता विषयमा राष्ट्र बैंकले चाँडै सूचना सार्वजनिक गर्नेछ ।” 
दसैँको मुखमा सटही गरिएका नोट उक्त चाडबाड सकिएपछि बैंक तथा वित्तीय संस्थामा फिर्ता आउने र तत्पश्चात ती नोटको माग ज्यादै न्यून हुने भएकाले ढुकुटीमा लामो समय थन्क्याएरै राख्नुपर्ने अवस्था रहने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका निर्देशक वासुदेव भट्टराईले बताए । 
“विगतका दसैँमा सटही गरिएका नोटको दुईदेखि झण्डै तीन गुणासम्म सुकिला नोट राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाका ढुकुटीमा छन् । ती नोट ढुकुटीमा राखिराख्दा गल्ने, सड्ने, बिग्रने तथा कुहिने अवस्था सृजना हुनुभन्दा तिनै नोटको सटही व्यवस्था गर्नु उपयुक्त हो”, उनले भने ।
नेपाली नोटको कागज ‘कटन बेस्ड’ हुने र लामो समय प्रयोगविहीन भई ढुकुटीमा भण्डारण हुँदा ती नोटमा चिसो, ओस तथा अपर्याप्त हावा र प्रकाशका कारण ढुसी आउने गर्दछ । यस्तो हुँदा नोटको आयुसमेत घट्दै जाने भई पुनःप्रयोग गर्न अयोग्य हुन सक्दछ । 
साथै, बजारमा कारोबारका लागि नगद नोट जति धेरैको हातहातमा पुगेर बैंकमा फिर्ता आयो त्यति नै नोटको प्रभावकारी उपयोग भएको मानिन्छ । यसकारण नोटको छपाइ, भण्डारण, ओसारपसार र धुल्याउनेजस्ता बैंक नोट व्यवस्थापनका आधारभूत कार्यहरूलाई मितव्ययी एवं प्रभावकारी बनाउनसमेत सुकिलो नोटको उपयोग बढाउनु आवश्यक रहेको निर्देशक भट्टराईले बताए ।
चाडबाडका समयमा मुख्यतयाः रु ५, १०, २०, ५० र १०० दरका नोटहरूको माग अत्यधिक हुने गरेको छ । साना दरका यस्ता नोटको होल्डिङ लागतसमेत न्यून हुने हुँदा सर्वसाधारण तथा व्यावसायिक क्षेत्रले आवश्यकताभन्दा बढी नोट सटही गरी क्रमशः कारोबारको आवश्यकता पूरा गर्ने तथा घरमै राख्ने प्रचलन रहेको पाइन्छ । 
मुलुकभर सफा नोट प्रचलनमा ल्याउने उद्देश्यले राष्ट्र बैंकले आर्थिक वर्ष २०६७/६८ को मौद्रिक नीतिमार्फत ‘सफा नोट नीति’ ल्याएको थियो । 
टीका लगाई दक्षिणा दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ लागेको वा मैलिएका हातहरूले नोट छुँदा त्यस्ता नोट चलनचल्तीमा आउँदैनन् । नोट राष्ट्रको सम्पत्तिसमेत भएकाले यसमा रङरू लगाउने, लेख्ने वा केरमेट गर्ने, नोटको आकार बिगार्नेजस्ता कार्य गरी नेपाली नोटको दुरुपयोग गर्ने/गराउनेउपर कारबाही गर्न सकिने व्यवस्था रहेको छ । 
नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याइकन राख्ने, कुनै पनि प्रकारको रङ नलगाउने गर्नुपर्दछ । नोटमा जथाभावी लेख्नु हुँदैन । त्यस्तै नोटमा केरमेट गर्ने, च्यात्ने, स्टिच गर्ने, टाँस गर्नेजस्ता नोटको क्षति हुने तथा आयु घट्ने कार्य गर्न नहुने पनि राष्ट्र बैंकले जनाएको छ ।

View : 96

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved