Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

कृत्रिम अङ्ग प्रदान गर्ने अभियान

उद्‌घोष संवाददाता
६ फागुन २०८०, आइतवार

झापा । शारीरिक र भौतिक रुपमा अपाङ्ग भएका ब्यक्तिलाई निःशुल्क कृत्रिम अङ्ग प्रदान र औंषधि उपचार गर्ने उद्देश्यले सद्गुरु मानव सेवा फाउण्डेसनले देशव्यापी धार्मिक अभियान सुरु गरेको छ ।

फाउण्डेसनले हात–खुट्टा नभएका, अपाङ्ग तथा सुस्त मनोस्थिति, दृष्टिबिहिन, कान नसुन्ने, बोल्न नसक्ने तथा फरक क्षमता भएका मानिसलाई कृत्रिम अङ्ग प्रदान गर्ने पूर्वको काँकरभिट्टाबाट विभिन्न धार्मिक–ऐतिहासिक मठमन्दिरमा धार्मिक अनुष्ठान अभियान सुरु गरेको हो । 

फाउण्डेसन र स्थानीय धार्मिक मठ–मन्दिरको ब्यवस्थापन समितिको संयुक्त आयोजनामा सप्ताह पुराण तथा अनुष्ठान लगाउँदै आएको छ ।

पहिलो कार्यक्रम अनुसार झापाको मेचीनगर–६ शान्ति रमाइलो गाउँको शिव पतालगंगा मन्दिरमा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी गरेको शनिबार फाउन्डेसनका संस्थापक एवम् प्रमुख कथा वाचक पण्डित मुकुन्द नेपालले जानकारी दिए ।

२०४५ सालमा स्थापना भएको ऐतिहासिक धार्मिक महत्व बोकेको शिव पतालगंगा मन्दिर व्यवस्थापनका लागि अनुष्ठानको आयोजना गरिएको मन्दिरका अध्यक्ष प्रेमरत्न चुडालले जानकारी दिए ।

उनका अनुसार मन्दिरको पूर्वाधार बिकाससँगै नवग्रह स्थापना गर्ने र २२ वटा धारा निर्माण गर्ने योजना रहेको छ । आइतबारबाट सुरु गरिने महापुराणको शोभा यात्रा गर्दा मेची खोलाबाट जल ल्याउने तयारी गरेको छ ।

जन्मदै शारीरिक रुपमा अपाङ्ग भएका, हातखुट्टा नचलेर घरमा कुज्जिएर बसेका मात्रै होइन, सुस्त मनोस्थिति, दृष्टिबिहिन, कान नसुन्ने, बोल्न नसक्ने तथा अन्य फरक क्षमता भएका मानिसलाई औंषधि उपचारसहित निःशुल्क कृत्रिम अङ्ग प्रदान गर्ने अभियानको मुल उद्देश्य रहेको छ ।

View : 445

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved