Biratnagar, Morang, Nepal
२४ असार २०८१, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्ट, शिक्षादीप र अरनिकोमा विद्यार्थीको चाप

उद्घोष सम्वाददाता
२० असार २०८१, बिहिवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा कक्षा ११ मा भर्नाका लागि सात सय भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । विज्ञान संकायका लागि १६० र व्यवस्थापन संकायका लागि ८० गरी २४० जना मात्र भर्ना लिने तयारी गरेको एभरेष्टमा ७१६ जनाले प्रवेश परीक्षा दिएको विद्यालय प्रशासनले जनाएको छ ।

एभरेष्ट स्कुलबाट एसईईमा तीन जनाले ४ जीपीए ल्याएका थिए भने रेड स्टार पथरीका दुई जना तथा विष्णु मेमोरियल सेकेन्डरी स्कुल धरानकी एक छात्राले एभरेष्ट रोज्ने बताएका छन् । यस्तै ४ जीपीए नै ल्याएर एभरेष्टमा प्रवेश परीक्षा दिएका रेड स्टार पथरीका अजय लिम्बूले समेत एभरेष्टको भौतिक पूर्वाधार र यहाँको शैक्षिक वातावरण लोभलाग्दो रहेको प्रतिक्रिया दिएका छन् ।

शिक्षादीपमा पनि विद्यार्थीको चाप

विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा विज्ञान संकायमा भर्ना हुने विद्यार्थीलाई बुधबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायको मात्र भएको परीक्षामा ८ सय सिटका लागि लिएको परीक्षामा २ हजार ३ सय २७ जना विद्यार्थी सहभागी रहेको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले जानकारी दिए ।

सरकारी स्कुलबाट उत्कृष्ट तीनमा पर्ने विद्यार्थी तथा जेहनदार विद्यार्थीलाई समेत पूर्ण छात्रवृद्धि प्रदान गर्ने  प्राचार्य खड्का बताए । कोशी र मधेश प्रदेशका  धेरै विद्यार्थीले प्रवेश परीक्षामा सहभागी भएको कलेजले जनाएको छ ।

अरनिकोमा दोब्बर परीक्षार्थी

त्यसैगरी विराटनगरको अरनिको कलेजमा कक्षा ११ का भर्ना हुने नयाँ विद्यार्थीलाई प्रवेश परीक्षा दिएका छन् । बुधबार कलेजले  लिएको विज्ञान विषयको ८ सय सिटको कोटाका लागि १ हजार ९ सय ३ जना विद्यार्थीले  परीक्षा दिएका हुन् ।

 कलेजका प्राचार्य राजेश कार्कीले अरनिको कलेजमा प्रवेश परीक्षा दिएका विद्यार्थीहरूलाई एसईईको अङ्क र प्रवेश परीक्षामा पाएको अङ्कको आधारमा १० हजारदेखि १ लाख रूपैयाँसम्म छुट दिने बताए ।

View : 51

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved