Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता आज, यी हुन् कोशी प्रदेशका पाँच उम्मेदवार

उद्घोष सम्वाददाता
२३ पुष २०८०, सोमवार

विराटनगर । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज सोमबार मनोनयन दर्ताको कार्यक्रम छ । त्यसका लागि कोशी प्रदेशमा रिक्त भएका दुई सिटका लागि दलहरूले उम्मेदवार सिफारिस गरेका छन् । एमालेले कोशी प्रदेशमा अन्यतर्फ भोजपुरका परशुराम अधिकारी र महिलातर्फ सुनसरीकी रुकमिणी कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले अन्यतर्फबाट पार्टीका पूर्व महानमन्त्री कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रले महिलातर्फ ओखलढुंगाकी चम्पा कार्कीलाई  उम्मेदवार बनाएको छ । राप्रपाले उद्धव पौडेललाई  उम्मेदवार बनाउने निर्णय गरेको छ । 

एमाले कोशी प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गरेका अन्यतर्फका ५ र महिलातर्फका ४ मध्येबाट एक/एकजनाको नाम टुंगो लगाएको हो । राष्ट्रिय सभामा गठबन्धनसँग महागठबन्धन गर्ने तयारीमा जुटेको एमाले अन्तिममा एक्लै चुनाव लड्दैछ ।

राष्ट्रिय सभा संसदीय दलको नेता समेत रहेका कांग्रेसका रमेशजंग रायमाझी र माओवादी केन्द्रकी बिना पोखरेलको पद रिक्त हुने भएकोले ती ठाउँमा निर्वाचन हुन लागेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनभित्रको नेपाली कांग्रेस र माओवादी केन्द्रले एक/एक सिट पाउने सहमति भएको छ । सोही सहमतिअनुसार माओवादीको आफ्नो भागमा परेको महिला सिटमा ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउने निर्णय आइतबार नै गरिसकेको छ ।

खाली हुन लागेको जम्मा २० सिटमध्ये एमाले एक्लैको ९ सिट खाली हुँदैछ । २० मध्ये १० सिट भागबण्डामा पाएको नेपाली कांग्रेसले कोशीमा गठबन्धनका तर्फबाट कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । कांग्रेसमा सभापति देउवा पक्षले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको जनाइएको छ । उनलाई राष्ट्रिय सभा अध्यक्षकै लागि अघि सार्ने तयारी छ ।

झापाको संसदीय क्षेत्रको अघिल्ला दुई प्रयास असफल बने पनि सिटौलाले संविधान निर्माणमा खेलेको भूमिका र पार्टीको योग्यताक्रमका आधारमा संस्थापनकै जोडबलमा उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस कोशी प्रदेश समितिका एक पदाधिकारीले बताए । 

कोशी प्रदेशमा कांग्रेसभित्र डा.शेखर कोइराला पक्षले भने डा.मिनेन्द्र रिजाललाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउन सभापति देउवालाई दवाव दिंदै आएको थियो । कांग्रेस कोशी प्रदेश समितिले सिटौला र डा रिजाल सहित ६३ जनाको नाम सिफारिस गरेको थियो ।

कोशी प्रदेशमा राप्रपाले भने उद्वव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको बैठकले कोशीमा पौडेलसहित ९ जनाको उम्मेद्दवारी रहने कुरा टुंगो लगाएको थियो ।

View : 133

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved