Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

सरस्वती माविका विद्यार्थीले पकाए सांस्कृतिक परिकारदेखि फास्टफुडसम्म

उद्‌घोष संवाददाता
२९ माघ २०८२, बिहिवार

विराटनगर । विराटनगर–९ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले विद्यालयकै पाककला प्रदर्शन गरेका छन् । उनीहरूले सांस्कृतिक परिकारदेखि ‘फास्टफुड’सम्म पकाएर खुवाएका हुन् ।

विद्यालयले आगामी शैक्षिक सत्रदेखि होटल व्यवस्थापन कक्षा संचालन गर्ने तयारी गरेको छ । त्यसका लागि विद्यालयले कक्षा ५ देखि १२ सम्मका विद्यार्थीहरूलाई पाककलाको प्रयोगात्मक शिक्षण गराएको हो ।

विद्यालयकी प्रधानाध्यापक अनिता नेपालले विगतमा पनि विद्यार्थीहरूलाई पाककला सम्बन्धि प्रशिक्षण हुने गरेको जानकारी दिंदै यसपटक विद्यालयले पूर्व व्यवसायिक कोर्ष तयार गरी र आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा होटल व्यवस्थापन  कक्षा संचालन गर्ने तयारी अघि बढाएको बताइन् । त्यसैका लागि विद्यार्थीहरूको अभिरुची बढाउन विद्यालयले १३ वटा समूह बनाएर पाककला प्रदर्शन गरिएको जानकारी दिइन् ।

विद्यालयको प्राङ्गणमा विद्यार्थीहरूले पकौडा, अचार, पानीपुरी, चटपटे, समोसा, पकौडा, चिया, इडली, झालमुरी, जुस, खिरपुरी, आलु निम्की, बर्गर, स्याण्डविच, ब्रेड, निम्की, गाजरको हलुवा, आलुचाट, योमरी, सेलरोटी, शाकाहारी मःम, दालपुरी, पनिर, सब्जी लगायत पकाएर खुवाएका थिए । 

उनीहरूले आफैंले रकम जुटाएर खाद्य सामग्री तयार पारेको र विद्यालयले त्यसमा सहयोग गरेको प्रअ नेपालले बताइन् । 

‘यसका लागि विद्यार्थीहरूले आफैंले पैसा उठाए, आफैंले खाद्यान्न सामग्री तयार पारे, पकाउने कुरामा मात्रै विद्यालयले पनि केही सहयोग गरेको हो’ प्रअ नेपालले भनिन्, ‘आफ्नै सीप प्रदर्शन गरेका हुन्, पकाएको खानेकुरा आफ्ना सहपाठी विद्यार्थीहरूलाई खाजाका रुपमा बिक्रीसमेत गरेका छन्, एकअर्काले पकाएको खानेकुराको स्वादको अनुभव आदानप्रदान गरेका छन् ।’

यस्तो कार्यले विद्यार्थीहरूमा पाककला सम्बन्धि हौसला बढाएको उनले बताइन् ।

विद्यार्थीहरूले तयार पारेका विभिन्न प्रकारका खानेकुरालाई विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेललगायत विभिन्न क्षेत्रका सरोकारवालाहरूले चाखेर अनुगमन गरेका थिए ।

View : 127

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved