Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

जेनजी आन्दोलनपछि भागेका प्रहरीलाई सफाइको मौका

उद्‌घोष संवाददाता
११ मंसिर २०८२, बिहिवार

सांकेतिक तस्वीर ।

विराटनगर । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कार्यालय नगएका २५ सहित २७ जना प्रहरीलाई नेपाल प्रहरीले सफाइको अन्तिम मौका दिएको छ ।

उनीहरूलाई मंसिर १० गतेदेखि लागू हुनेगरी सात दिनभित्र सन्तोषजनक स्पष्टीकरण लिएर हाजिर हुन भनिएको छ ।

आन्दोलनपछि जागिरमा नजाले २५ मध्ये सातै प्रदेश मध्ये सबैभन्दा बढी कोशी प्रदेशका ११ जना छन् । उनीहरू के कुन कारणले जागिरमा नगएका हुन् भन्ने खुलेको छैन । 

नेपाल प्रहरीले बुधबार सार्वजनिक सूचना जारी गर्दै यसअघि खोजतलास र सूचना टाँस भई सकेकाले उनीहरूलाई सात दिनभित्रमा हाजिर नभए सेवाबाट हटाइने अन्तिम चेतावनी दिएको छ ।

मोरङ सुन्दरहरैंचा–६ घर भई सशस्त्र प्रहरी सेनामुख गण सुनसरी दरबन्दी भएका प्रहरी हवल्दार राजकुमार राई गत अशोज १४ देखि कार्यालयमा गएका छैनन् । 

इलाका प्रहरी कार्यालय केचना झापा दरबन्दी भएका इलाम सूर्योदय–१० का प्रहरी हवल्दार भरत कट्टेल अशोज २२ देखि, कारागार सुरक्षा गार्ड पाँचथरमा रहेका सहायक हवल्दार ताप्लेजुङ सिरिजङ्गा–४ का सहायक हवल्दार मुस्कान लिम्बू अशोज ९ देखि जागिरमा गएका छैनन् ।

यस्तै नेपाल प्रहरी पहरा गण सामाखुसी काठमाडौ दरबन्दी भएका ओखलढुङ्गा चिशंखुगढी–२ का सहायक हवल्दार बद्रीबिक्रम थापा, जिल्ला प्रहरी काठमाडौ सीआरभी दरबन्दी भएका इलाम देउमाई–५ का जवान डिकल कार्की, नारायणहीटी सुरक्षा गारथ गुल्म नारायणहीटी संग्रहालय काठमाडौ दरबन्दी भएका ओखलढुङ्गा मोलुङ–५ का जवान दिनेश मगर पनि कार्यालयमा गएका छैनन् ।

प्रहरी चौकी थुम्बेदीन ताप्लेजुङ दरबन्दी भएका इलाम माङ्सेबुङ–१ का जवान अन्जना लिम्बू, जिल्ला प्रहरी ताप्लेजुङ दरबन्दी रहेका इलाम नगरपालिका–४ का जवान सन्तोष राई, काठमाडाैं उपत्यका सशस्त्र प्रहरी गण महाराजगञ्ज दरबन्दी भएका उदयपुर चौदण्डीगढी–६ का जवान पुस्कल राई पनि सेवामा नफर्किएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी बिपद ब्यवस्थापन गुल्म चन्द्रगढी झापा दरबन्दी भएका इलाम सूर्योदय–९ निवासी जवान शिवकुमार राई, कोशी प्रदेश प्रहरी कार्यालयको सवारीचालक रहेका इटहरी–७ का निश्चल विश्वकर्मा, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण २ नम्बर गुल्म दरबन्दी भएका उदयपुर चौदण्डीगढी–५ का पारस खत्री अशोज २६ गतेदेखि कार्यालयमा गएका छैनन् । 

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो दरबन्दी भएका सहायक निरीक्षक रामप्रसाद गौतमसहित दुई प्रहरी हवल्दार, तीन सहायक हवल्दार, १९ जवान र दुई प्राविधिक जवान सम्पर्कमा नरहेकाले सात दिन भित्र स्पष्टीकरण जवाफसहित हाजिर हुन नआए प्रहरी सेवाबाट हटाइने प्रहरीले सूचनामार्फत जनाएको छ ।

View : 202

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved