विराटनगरको कञ्चनबारी चोकमा शनिबार देब्रे नोबेल अस्पतालतर्फ घुम्ने सवारी साधनलाई अवरोध गरेर रोकिएका साधन । तस्वीर : कमल/उद्घोष
विराटनगर । विराटनगरका ६ स्थानमा जडान गरेको ट्राफिक लाइटमा थेत्तरो भएर लेन मिच्ने चालकहरूलाई कारवाही गर्न ट्राफिक प्रहरीले कुनै सक्रियता नदेखाएको गुनासो बढेको छ ।
खासगरी ट्राफिक लाइट र ट्राफिक प्रहरीसमेत भएका स्थानमा अटेरी गर्ने चालकहरूलाई सम्झाउने बुझाउने वा कारवाही गर्ने सवालमा उदासिनता बढेको आम सर्वसाधरणले गुनासो गरेका हुन् ।
ट्राफिक लाइट भएको स्थानमा जुनसुकै बेला देब्रे मोडिन पाउने व्यवस्था भए पनि लेन मिचेर बाटो ओगटिदिने प्रवृत्तिले अन्य सवारीसाधन मर्कामा पर्ने गरेका छन् ।
देब्रे मोडिने लेन जतिखेर पनि क्लियर हुने ट्राफिक नियम हो । तर नबुझेर होस् वा लापरवाही गरी लेन मिच्ने प्रवृत्ति बढेको छ ।
यसरी लापरबाही गर्ने चालकहरूले नियम पालना नगर्दा अन्य सवारी साधनहरू सडकमा बिना कारण रोक्नुपर्ने अवस्था सिर्जना भएको छ । देब्रे मोडिनुपर्ने र सिधा अगाडि जानुपर्ने दुवै प्रकारका सवारी साधन सडकमा रोकिन बाध्य छन् ।
शनिबार कञ्चनबारी चोकमा ट्राफिक प्रहरीले यस्ता अटेरी चालकलाई नियन्त्रण गर्न सक्रियता नदेखाएको स्थानीयले बताएका छन् ।
लेन अव्यवस्थित हुँदा देब्रे लेनमा रोकिएका सवारी साधन हटाउन पहल नगरेको भन्दै ट्राफिक प्रहरीको आलोचना भएको हो ।
यो समस्या पटक–पटक दोहोरिदै आएको छ । सडकमा रोकिएका सवारी साधनका कारण पछाडि रहेका अन्य सवारी साधनहरू देब्रे मोडिन पाउँदैनन्, जसका कारण आपतकालीन सेवा दिने एम्बुलेन्ससमेत प्रभावित हुने गरेको छ ।
विराटनगरका एम्बुलेन्स चालक आनन्द बिकले यस्ता समस्याका कारण बिरामी लिएर जाँदा बीच बाटोमै रोकिनुपर्ने बाध्यता रहेको बताए ।
‘बिरामी लिएर साइरन बजाउँदै जाँदा बीचको लेनमा लाइन लागेर बस्नुपर्छ । देब्रे लेन खाली हुनुपर्ने हो तर गाडी रोकिएका हुन्छन्,’ उनले भने, ‘एम्बुलेन्सको साइरन बज्दा कहिलेकाहीँ मात्र ट्राफिक प्रहरीले बाटो खुलाउने गर्छ ।’
कञ्चनबारी, बरगाछी, सरौचिया, रोडशेष, जलजला चोक र तीनपैनी लगायतका ट्राफिक लाइट जडित स्थानहरूमा यस्ता समस्या नियमित रूपमा देखिने गरेका छन् ।
देब्रे मोडिन चाहने सवारीलाई अवरोध गरेर अगाडि रोकिएका साधन हटाउन ट्राफिक प्रहरीले सक्रिय भूमिका खेल्नुपर्ने स्थानीयको माग छ ।
तर लाइट भएका स्थानमा खटिएका ट्राफिक प्रहरीले प्रभावकारी भूमिका नदेखाउँदा हतारमा रहेका यात्रु र चालकले सास्ती भोग्नुपरेको राजधानी युवा क्लब विराटनगरका उपाध्यक्ष नवराज काफ्लेले बताए ।
उनले आफूले पटक–पटक ट्राफिक प्रहरीलाई यस विषयमा सचेत गराएको पनि उल्लेख गरे । ‘मेरो धेरैजसो हिंडडुलको काम पर्छ, सिधा जाने गाडी देब्रे लेनमा रोकिएका हुन्छन्,’ उनले भने, ‘मैले आज मात्रै ट्राफिक प्रहरीलाई सम्झाएको छु ।’
उनका अनुसार ट्राफिक प्रहरीले जिम्मेवारीपूर्वक काम गरी जनचेतना फैलाउन आवश्यक छ ।
रातो बत्तीले एकतर्फी सवारी रोकेर अर्को तर्फका सवारीलाई जान दिइरहेको अवस्थामा साइकल र ठेलागाडा भने रोकिएको देखिदैन ।
कोशी प्रदेशको राजधानी भएसँगै विराटनगरमा सवारी चाप व्यवस्थापनका लागि जडान गरिएका ट्राफिक लाइटहरूको व्यवस्थापन ट्राफिक प्रहरीले नै गर्दै आएको छ ।
तर जरिवानामा केन्द्रित ट्राफिक प्रहरीले लाइटको नियम उल्लंघन गर्ने सवारीलाई कडाइका साथ कारबाही नगरेको गुनासो पनि छ ।
गाउ“बाट आएका चालकहरूभन्दा बजारिया तथा सम्पन्न वर्गका चालकहरूले ट्राफिक नियम बढी उल्लंघन गर्ने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
मोरङ ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेले यस्ता गुनासो विभिन्न स्थानबाट आउने गरेको स्वीकार गर्दै देब्रे लेनमा रोकिएका सवारीलाई नियन्त्रण गर्ने प्रयास भइरहेको बताए ।
‘ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई स्पष्ट निर्देशन दिइएको छ, तर जनशक्ति पनि कम छ,’ उनले भने, ‘ट्राफिक लाइटको निगरानी म स्वयंले कहिलेकाहीँ सीसीटीभीमार्फत पनि गर्ने गरेको छु ।’
View : 114
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved