विराटनगर : मंगलबार कोशी प्रदेश प्रवेश गरेको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग संकल्प यात्रा आज खोटाङ सदरमुकाम दिक्तेलबाट भोजपुरका लागि प्रस्थान गर्दैछ । यात्राको १४औं दिन एमालेले आज ८४ किलोमिटर पार गर्ने जनाइएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबारको यात्रा अन्तरगत चखेवा भन्ज्याङ, अन्नपूर्ण लगायतका ठाउँहरुमा जनतासँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ । अध्यक्ष केपी शर्मा ओलीसहित केन्द्रीय कमिटीका पदाधिकारी र नेता कार्यकर्ता सम्मिलित टोलीले आज बिहानको खाना भोजपुरमा खाने र साँझ भोजपुरमै बिताउने जनाइएको छ ।
मंगलबार रामेछापको मन्थलीबाट एमालेको यात्रा उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा सभा गरेर कोशी प्रदेश प्रवेश गरेको थियो । उक्त यात्रा टोली दिक्तेल पुगेर बास बसेको थियो ।
१९ दिने यात्राको सबैभन्दा छोटो दुरी हिजोको यात्रा ६६ किलोमिटर मात्र रहेको थियो । सबैभन्दा लामो दुरी यात्राको छैटौं दिन सुर्खेतबाट १९२ किलोमिटर पार गर्दै रुकुमकोटसम्म पुगेको थियो ।
एमालेले मंसिर १४ गते बैतडीको झुलाघाटबाट समृद्धिका लागि संकल्प यात्रा नाम दिएर मध्यपहाडी राजमार्ग केन्द्रीत यात्रा सुरु गरेको हो । यो यात्रा पुष १ गते पाँचथर चिवाभन्ज्याँङमा पुगेर टुंगिने कार्यक्रम सार्वजनिक भइसकेको छ ।
View : 282
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved