महानगर एमालेको वडा अधिवेशन
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटी अन्तरगतका १९ वटै वडामा शनिबार एकै दिन वडा अधिवेशनको मिति तोकिएकोमा १४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
वडा नम्बर ४, १० र १४ मा भने अध्यक्षका लागि निर्वाचन नै गर्नुपरेको छ । वडा नम्बर ७ र ९ मा वर्तमान कमिटीका अध्यक्षहरूको अस्वस्थता र विराटनगर बाहिर रहेको भन्दै वडा अधिवेशन स्थगित गरेर साउन २५ को नयाँ मिति तोकिएको छ ।
शनिबार भएको वडा अधिवेशनबाट वडा नम्बर १ को वडा कमिटीको अध्यक्षमा इश्वर रिजाल सर्वसम्मत चयन भएका छन् । वडा नम्बर २ मा प्रविणचन्द्र कर्ण, वडा नम्बर ३ मा इश्वर निरौला वडा कमिटीको अध्यक्ष बनेका छन् ।
महानगर कमिटीका सचिव विज्ञान चापागाईँका अनुसार वडा नम्बर ५ मा राजेश गिरी सर्वसम्मत वडा कमिटी अध्यक्ष चयन भएका छन् । ६ मा नारायण बराल, ८ मा भुवन राजवंशी अध्यक्षमा सर्वसम्मत भएका हुन् ।
वडा नम्बर ११ मा सुर्यकिरण घिमिरे, १२ मा भानुभक्त पाठक, १३ मा निरज बस्नेत सर्वसम्मत वडा कमिटी अध्यक्ष चयन भएका छन् ।
त्यसैगरी, १५ मा भिखारी खत्वे, १६ मा धनकुमार लामा, १७ मा मोहम्मत गुल्जार, १८ मा जितेन्द्र कामत र १९ मा अमिरलाल चौधरी वडा कमिटी अध्यक्षमा सर्वसम्मत चयन भएको सचिव चापागाईँले जानकारी दिए ।
अध्यक्षमा चयन भएका मध्ये ९ वटा वडामा दोहोरिएको जनाइएको छ ।
एकैपटक वडा अधिवेशनको मिति तोकिएका कारण विराटनगरका विभिन्न होटल, सामुदायिक भवन र पार्टी प्यालेसमा वडा अधिवेशन गरिएको हो ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा साउन ७ गते बसेको सचिवालय बैठकले एकै दिन वडा अधिवेशन गर्ने निर्णय थियो ।
४ मा काफ्ले, १० मा तिम्सिना, १४ मा शर्मा
यसैबीच, वडा नम्बर ४ मा वडा कमिटी अध्यक्ष टुंगो लगाउन राती अबेरसम्म कुर्नु पर्यो । सर्वसम्म हुन नसकेपछि यहाँ निर्वाचन नै गर्नु परेको थियो ।
शनिबार राती झण्डै ११ बजे सकिएको मतगणनाबाट नवराज काफ्लेको नाम वडा कमिटी अध्यक्षमा निर्वाचित भएको घोषणा भएको हो । सोही वडाको अध्यक्ष रहेका काफ्ले महानगर कमिटीको सचिवमा उठेर पराजित भएका थिए ।
वडा नम्बर १० को अध्यक्षमा भएको निर्वाचनबाट कृष्णप्रसाद तिम्सिना निर्वाचित भएका छन् । उनले ४७ मत प्राप्त गर्दै वडा कमिटी अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा प्रतिष्पर्धा गरेका महेश मण्डलले ३६ मत प्राप्त गरेको जनाइएको छ ।
वडा अधिवेशन सम्पन्न गर्न वरिष्ठ अधिवक्ता गणेशराज लुईँटेलको संयोजकत्वमा अधिवक्ता डिल्लीराम घिमिरे, अधिवक्ता विश्वराम भट्टराई, अधिवक्ता महेश खड्का र महानगर कमिटी निर्वाचन समिति संयोजक अधिवक्ता विष्णुकुमारी तामाङ सदस्य रहेको पाँच सदस्यीय निर्वाचन समिति घोषणा गरिएको थियो । उक्त समितिले हरेक वडामा वडास्तरीय निर्वाचन कमिटी बनाएर वडा अधिवेशन गरिएको जनाइएको छ ।
सवै वडाको अधिवेशन सकिएपछि साउन ३१ मा वडा कमिटीका पदाधिकारीलाई अभिमुखीकरण गर्ने तयारी रहेको सचिव चापागाईँले बताए ।
View : 1205
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved