Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

आउँदो चुनाव किन लड्न चाहँदैनन् कांग्रेसका शक्तिशाली महामन्त्री शर्मा ?

उद्‌घोष संवाददाता
११ पुष २०८२, शुक्रवार

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको फागुन २१ हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । 

लगातार तीनपटक उम्मेदवार भएपछि चुनाव नलड्ने घोषणा गरेका महामन्त्री शर्माले पूर्व प्रतिबद्धता अनुरूप नयाँ व्यक्तिलाई अघि सार्न यस्तो निर्णय लिएको बताएका छन् । 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बिहीबार बोल्दै शर्माले पूर्व घोषणा अनुसार नै आफू आउँदो निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी दिएका हुन् । 

‘आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा वा एउटा तहमा हारे अर्कोमा भए पनि उम्मेदवार बन्नैपर्ने, बाँचुञ्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री रहिरहनु पर्ने हाम्रो राजनीतिको यो प्रवृत्ति भत्काउन जरूरी छ’ बैठकमा महामन्त्री शर्माले भने ‘अतः लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नबनेर अरू साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रमा गरेर आएको जानकारी गराउँदछु ।’  

झापा १ बाट प्रतिनिधिसभाको पछिल्लो चुनाव जितेका महामन्त्री शर्माले बैठकमा थपेका थिए ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु ।’ 

महामन्त्री शर्माले एकवर्ष अघि नै आउँदो चुनाव नलड्ने भन्दै आफ्नै क्षेत्रको एउटा कार्यक्रममा घोषणा गरेका थिए ।  

२०८१ पुस २१ गते आफ्नै क्षेत्रको धुलाबारीस्थित अतिथि सदनको कार्यक्रममा बोल्दै आगामी चुनावमा उम्मेदवार बन्न इच्छुकहरूलाई अहिल्यैदेखि गाउँमा मेहनत गर्न भनेका थिए ।

‘म ०८४ मा उम्मेदवार बन्न इच्छुक छैन भनेर घोषणा गरेको थिएँ’ उनले बैठकमा भनेका छन् ‘फेरि पनि सर्वसम्मत सिफारिस गरेकोेमा झापा १ का आदरणीय साथीहरूलाई धन्यवाद दिएको छु ।’ यसपटक पनि झापा १ बाट उनको नाम एकल सिफारिश भएको थियो ।   

शर्माले २०७०को संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग पराजय बेहोरेका थिए भने २०७४ मा वाम गठबन्धनका राम कार्कीसँग पराजित भएका थिए । 

२०७९ मा भने उनले एमालेका अग्नि खरेललाई पराजित गरेका थिए । महामन्त्री शर्माले पार्टी नेतृत्व फेरेर मात्रै चुनावमा जानुपर्ने बैठकमा बताएका छन् । 

‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ, बढीभन्दा बढी युवा र नयाँ साथीहरूलाई अवसर दिनुपर्छ’ उनले भने । 

महाधिवेशनबारे बोल्दै उनले कार्यतालिका परिमार्जन गरेर तीन तहको अधिवेशन गर्नुपर्ने बताए ।

वडा र क्षेत्रको अधिवेशन गरेर पुस २६ मै महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ । फागुन २१ को चुनावको तयारी नपुगेको भन्दै उनले वैशाखमा निर्वाचन गर्न सबैले साथ दिनुपर्ने पनि बताएका छन् । 

‘चुनाव हुन कि त सरकारले वातावरण बनाउन सक्नैपर्छ कि त सर्वपक्षीय संवाद र छलफल गरेर बैशाखमा चुनाव गर्न सरकारलाई सुझाव र साथ दिनुपर्छ’ उनको प्रस्ताव छ ‘संवैधानिक प्रश्न सम्बोधन गर्न फागुन २१ मा ७ प्रदेशको ७ क्षेत्रमा गर्न सकिन्छ ।’

View : 192

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved