Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

कार्की नेतृत्वको सरकारमा जसपा सहभागी नहुने

उद्‌घोष सम्वाददाता
१७ कार्तिक २०८०, शुक्रवार

विराटनगर : पहिचान पक्षधरको आन्दोलनले उठाएका मुद्दामा सहमति नहुञ्जेल मुख्यमन्त्री केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारमा जनता समाजवादी सहभागी नहुने भएको छ । मुख्यमन्त्री कार्कीले सर्वदलीय सहमतिको सरकार निर्माणमा लाग्ने बताउँदै आएकोमा जसपाले सरकारमा सहभागी नहुने निर्णय गरेको जनाइएको छ ।

जसपा कोशी प्रदेश समितिको कार्यकारिणी समिति बैठकले सरकारमा नहुने विषयमा निर्णय नै गरिसकेको जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले बताए । नेकपा एमालेका ३९ जना प्रदेशसभा सदस्यहरूको समर्थनमा केन्द्रीय गठबन्धनको निर्णयविपरीत कांग्रेसबाट विद्रोह गरेर मुख्यमन्त्री बनेका कार्कीलाई जसपाको यो निर्णयले दवावमा पार्न सक्ने जनाइएको छ । 

तर मुख्यमन्त्री कार्कीले पनि आफूसँग एमालेसहित कांग्रेसको सम्पूर्ण सांसदहरूको समर्थन जुटाएर बलियो सरकारको मुख्यमन्त्री बन्ने दाबी गरिरहेका कारण जसपा सरकारमा आइहालोस् भन्ने पक्षमा छैनन् । सरकारमा आए महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिनुपर्ने अवस्थाप्रति मुख्यमन्त्री कार्की सचेत रहेको निकट स्रोतको भनाइ छ ।

जसपाले केन्द्रीय गठबन्धनमा रहेकाका कारण मुख्यमन्त्री कार्कीलाई विश्वासको मत भने दिएको छ । यसअघि एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर दोस्रो पटक विश्वासको मत नदिएको जसपाले एमालेकै समर्थनमा बनेका मुख्यमन्त्री कार्कीलाई दवावमा राख्न यस्तो निर्णय गरेको हो । 

केही दिनअघि सुनसरीको इटहरीमा बसेको कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री कार्कीसँग वार्तामा बसेर पहिचानको मागबारे धारणा माग्ने निर्णय गरेको जसपा कार्यकारिणी समितिका एक सदस्यले बताए । 

कोशी प्रदेशसभामा जसपासँग रहेको एक सिटमा सांसद निर्मला लिम्बू रहेकी छन् । जसपाले विगतमा एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने बेलामा पनि पहिचानको मुद्दा सम्बोधन नभएकोले समर्थन फिर्ता लिनुपरेको बताएको थियो । 

त्यसपछि उद्धव थापा नेतृत्वको सरकारसँग पनि पहिचानको मुद्दामा लिखित सम्बोधन हुनुपर्ने माग राखेकोमा मुख्यमन्त्री थापाले आश्वासनयुक्त पत्र सार्वजनिक गरेपछि जसपा सरकारमा गएको थियो । कोशी प्रदेशमा जसपाकी सभा सदस्य लिम्बू लगातार स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्दै आएकी छन् ।

View : 159

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved