विराटनगर । सुनसरीको इटहरीमा अन्तर्राष्ट्रियस्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । अमेरिकी चेन होटल ब्राण्ड विन्डम होटल्स एण्ड रिसोट्र्स अन्तर्गतको लोकप्रिय मिड–स्केल ब्राण्ड ‘रमडा’ लाई पहिलोपटक पूर्वी नेपालमा होटल व्यवसायी देशबन्धु बस्नेत (अजित)ले सञ्चालनमा ल्याउन लागेका हुन् ।
होटलको सम्पूर्ण निर्माण तथा सजावटको काम सम्पन्न भई एक महिनाभित्रै सञ्चालनमा आउन लागेको बस्नेतले जानकारी दिएका छन् । सञ्चालनमा आउने होटलमा ८१ वटा कोठा छन् । जसअन्तर्गत डिलक्स सिंगल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ २, जुनियर स्वीट ६ र स्वीट २ वटा कोठा रहेको होटल व्यवस्थापनले जनाएको छ ।
होटलमा टेरेस बार, अल–डे डाइनिङ रेस्टुरेन्ट, कफी शप, दुई वटा ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन, पूल बार, स्वीमिङ पूल, जिम तथा स्टिम–साउनासमेत रहेको होटल व्यवस्थापनले उल्लेख गरेको छ ।
व्यावसायिक बैठकदेखि विवाह तथा सामाजिक कार्यक्रमसम्मका लागि उपयुक्त हुने होटलले ८० जनाभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति समेत रहेका बस्नेतका अनुसार नेपालको पर्यटन सम्भावनालाई थप उजागर गर्ने उद्देश्यले पूर्वी नेपालमै पहिलोपटक अमेरिकी चेन होटल ब्राण्ड भित्र्याइएको हो ।
भारतको बिहार र पश्चिम बंगालसँगको निकटताले होटललाई नेपाली तथा भारतीय अतिथिहरूको विवाह समारोह, सामूहिक घुमफिर र सम्मेलनका लागि आकर्षक गन्तव्य बनाउने अपेक्षा गरिएको छ ।
भारतसहित भूटान, बंगलादेशलगायत देशका पर्यटक तथा व्यवसायीहरूको प्रमुख गन्तव्य बन्ने विश्वास होटल व्यवस्थापनले लिएको छ । होटल व्यवसायीले होटलले पूर्वी नेपाललाई विश्व बजारसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने दावी गरेको छ ।
‘रमडा’ सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्दै बस्नेतले जोगबनी र किमान्थाङ नाकालाई ट्रान्जिटका रूपमा प्रयोग गरी इटहरीलाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए ।
यसबाट भेडेटार, श्रीअन्तु, कोशी टप्पु र इलामजस्ता पर्यटकीय गन्तव्यमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
साथै रामधुनी, बराहक्षेत्र, पिण्डेश्वरी र चतराधामजस्ता पूर्वी नेपालका महत्वपूर्ण धार्मिक स्थलको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा समेत होटलले टेवा पुर्याउने विश्वास बस्नेतले व्यक्त गरेका छन् ।
करिब एक दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय बस्नेत पेशाले इन्जिनियर हुन् । उनी गणतन्त्र जाम्बियाका मानार्थ वाणिज्यदूतसमेत हुन् । उनको नेतृत्वमा पाँचतारे होटल ब्राण्ड ‘मक्र्योर बाइ अकोर’ काठमाडौंको सुकेधारामा सन् २०२५ जनवरी १५ देखि सञ्चालनमा आइसकेको छ ।
यसका अतिरिक्त बस्नेतले इटहरीमै भविष्यमा एकैपटक तीन हजारभन्दा बढीलाई सेवा दिन सक्ने सम्मेलन तथा ब्यांक्वेट हल, नेपालकै ठूलो स्वीमिङ पूल, अत्याधुनिक स्वास्थ्य तथा स्पा केन्द्र, रिक्रिएशन सेन्टर र २० वटा आधुनिक कोठासहितको अर्को महत्वाकांक्षी परियोजना पनि अघि बढाइरहेका छन् ।
View : 173
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved