Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कारवाहीको भुमरीमा फस्दै सागर थापा

मुख्यमन्त्री कार्की एमाले महानगर कमिटी अध्यक्ष थापामाथि गरिएको कारवाही गिजोलियोस् र कसैगरी लहरो तान्दा पहरो विनोद ढकालसम्म पुगोस् भन्ने पक्षमा रहेको स्रोतको दावी छ ।
उद्घोष सम्वाददाता
१८ असार २०८१, मङ्गलवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले तीन सदस्यीय आयोग गठन गरेपछि एमाले मोरङले निलम्बन गरेको भनिएका महानगर कमिटी अध्यक्ष सागर थापा सशंकित बनेका छन् । यस्तै प्रकृतिको आयोग जिल्ला कमिटी मोरङले बनाएर पार्टी कारवाहीको भुमरीमा परेका थापा आफूलाई न्याय हुनेमा कमै आशावादी देखिएका छन् ।

अझ थापालाई कारवाहीको सिफारिस गर्ने व्यक्तिहरू नै प्रदेश कमिटीबाट पुरस्कृत र अनुमोदित भएपछि थापाको बेचैनी झन् बढेको बताइन्छ । उनको बेचैनी आइतबार राति उनले लेखेको फेसबुक स्टाटसबाट पनि झल्किन्छ । उनले लेखेका छन्, ‘गम्भीर निर्णय गर्ने बेला आएको छ । प्रतीक्षा गर्नु होला ।’ उनको यो स्टाटसमा अधिकांशले पार्टीले गरेको कारवाही नै होला भन्ने ढंगले कमेन्ट गरेका छन् । धेरैले आवेशमा कुनै अप्रिय निर्णय लिन पनि सुझाव दिएका छन् । 

नेकपा एमाले कोशी प्रदेश कमिटीको आइतबार सचिवालय बैठक बसेको थियो । उक्त बैठकले महानगर कमिटीका अध्यक्ष थापालाई एमाले मोरङले गरेको कारवाहीको अनुमोदन नगरे पनि आफ्नै अध्ययन कार्यदल बनाएको छ ।

यसअघि जिल्ला कमिटी मोरङको सचिवालय बैठकले पनि तीन सदस्यीय कार्यदल बनाएको थियो । थापालगायतलाई कारवाही गर्ने सिफारिस गरेर आइतबार सोही कार्यदलकी एक संयोजक शान्तिकुमारी लिम्बू मोरङ जिल्ला कमिटीको उपाध्यक्ष र रविन थापा सचिव भएका छन् । लिम्बू र थापाले पाएको जिम्मेवारीलाई पुरस्कार र बक्सिसको रुपमा सागर थापा समूहले बुझेको छ । 

यता पहिल्यैको कार्यदलबाट झस्किएका थापा फेरि कोशी प्रदेश कमिटीको नामबाट बनेको अर्को कार्यदलले अझ न्याक्ला कि भन्नेमा त्रस्त छन् । कोशी प्रदेश कमिटी सचिवालय बैठकले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीको संयोजकत्वमा आयोग बनाएको छ ।

आयोगको सदस्यहरूमा कमिटीका उपसचिव देवान राई र प्रदेश कमिटी सदस्य होमबहादुर थापा छन् । आयोगले केही दिनभित्रै छानविन गरी महानगर अध्यक्ष थापामाथि भएको कारवाहीको विषयमा राय–सुझावसहितको प्रतिवेदन पार्टीको प्रदेश कमिटीलाई बुझाउने जनाइएको छ । 

अध्ययन कार्यदलले कस्तो प्रतिवेदन दिन्छ भनेर थापालगायतको समूहले लख काटिसकेको छ । ‘यो सबै एमालेमा विनोद ढकाललाई सिध्याउन गरिएको डिजाइन हो । विस्तारै यो ‘ग्राण्ड डिजाइन’ बन्दैछ’ एमालेका एक कार्यकर्ता भन्छन् । एमाले कोशी प्रदेश कमिटीको गत असोजमा सम्पन्न प्रदेश अधिवेशनमा ढकाल अध्यक्षका उम्मेदवार थिए । स्रोतका अनुसार, उनी पार्टी अध्यक्ष केपी शर्मा ओलीको इच्छाविपरीत उठेका थिए । 

उता पार्टीको संस्थापन पक्षले भने पुराना नेता घनश्याम खतिवडालाई उम्मेदवार बनायो । अधिवेशनमा एमालेको ठूलो शक्तिको बलमा खतिवडाले चुनाव जिते भने ढकालले केही नेता र कार्यकर्ताको भरमै चुनाव लडेर सम्मानजनक मत ल्याए । समाचार स्रोतका अनुसार ढकाललाई हराउने कामको विशेष नेतृत्व पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिएका थिए ।

उनी पार्टीको कोशी प्रदेश अधिवेशनताका पनि मुख्यमन्त्री थिए । ढकाललाई हराउन कार्कीले प्रदेश सरकारको स्रोत–साधनको निकै दुरुपयोग गरेका थिए । अहिले पनि कारवाही गरेका भनिएका सागर थापालाई बाहिर–बाहिर थुम्थुमाएजस्तो गरेर कार्कीले दोहोरो चरित्र प्रदर्शन गरेको स्रोतको दावी छ ।

आइतबार प्रदेश कमिटीको सचिवालय बैठक हुने दिन पनि उनले मोवाइल स्वीच अफ गरेर थापा पक्षको फिराद सुन्न इन्कार गरेको बुझिएको छ । सचिवालयको बैठकमा पनि उनी सबै निर्णय भएपछि अन्तिममा मात्र पुगेको बताइन्छ । मुख्यमन्त्री कार्की एमाले मोरङका इञ्चार्ज पनि हुन् । उनी इन्चार्ज भएको जिल्लामा उनैलाई थाहा नभएको र नसोधिएको भनिएको निलम्बन र स्पष्टीकरण प्रकरण अहिले चलिरहेको छ ।

कारवाही प्रकरणमा आफू इन्चार्ज भएको हैसियतले पार्टीको आधिकारिक फोरममा मुख्यमन्त्री कार्कीले कुनै धारणा नराख्नुलाई अर्थपूर्ण मानिएको छ । उनी महानगर कमिटी अध्यक्ष थापामाथि गरिएको कारवाही गिजोलियोस् र कसैगरी लहरो तान्दा पहरो विनोद ढकालसम्म पुगोस् भन्ने पक्षमा रहेको स्रोतको दावी छ ।

एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले गत जेठ ३१ विराटनगरस्थित मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध समूह बनाएर चुनावी गतिविधि र प्रचार–प्रसार गरेको आरोपमा सागर थापालाई पार्टी सदस्यता समेत निलम्बन गरेको पत्र थमाएका थिए । साथै उनले महानगर कमिटीको अध्यक्षको जिम्मेवारी पनि खोसेका थिए । तर आफूमाथिको कारवाही पार्टी कमिटीको नभई व्यक्तिको भएको भन्दै थापाले आफ्नो नियमित काम गरिरहेका छन् ।

उनले शनिबार असार–१५ का दिन धान दिवसको कार्यक्रम गरेका थिए । ऊक्त कार्यत्रममा पार्टी केन्द्रीय सदस्य रामलाल साहबाहेकका कुनै केन्द्रीय नेता देखिएनन् । उनी अध्यक्ष रहेको कमिटीका सचिव रोहित कोइराला पनि कार्यक्रममा आएनन् ।

कोइराला महानगर अध्यक्ष थापामाथि गरिएको कारवाही कार्यान्वयन हुनुपर्ने पक्षमा छन् । कोइराला पार्टीले सागर थापालाई कारवाही गरेकाले अहिले महानगर कमिटी आफ्नो नेतृत्वमा रहेको दावी गर्छन् । उनी महानगर कमिटीमा अध्यक्षमुनिको सचिव आफू भएकाले अरु कसैलाई पार्टीको ब्यानर दुरुपयोग गर्न छुट नभएको बताउँछन् ।

View : 253

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved