विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ एकता टोलकी घरेलु हिंसा पीडित ४७ वर्षीया अम्बिका कार्कीलाई इन्सेकले कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले पीडित कार्कीलाई कानुनी प्रक्रियाका लागि ७ हजार ५०० रुपैयाँ सहयोग गर्दै मोरङ जिल्ला अदालतमा फिरादपत्र दर्ता गराएको छ ।
नाबालक ११ वर्षीय छोराको संरक्षक भई आफ्नो हकमा समेत घरेलु हिंसा पीडित कार्कीले पति पूर्णबहादुर न्यौपानेका विरुद्ध मोरङ जिल्ला अदालतमा दिएको उजुरी बैशाख २५ गते दर्ता भएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताए ।
कार्की इन्सेक कोशी प्रदेश कार्यालयमा वडा कार्यालयको सिफारिससहित सहयोगको अपेक्षासहित निवेदन लिएर पुगेकी थिइन् ।
उनलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउन इन्सेकले जिल्ला अदालतमा निवेदन दिनुका साथै कानुनी उपचारका लागि आवश्यक पहल गरेको संयोजक पोखरेलले जानकारी दिए ।
घरेलु हिंसा पीडित कार्कीले ०५८ फागुन १५ गते पूर्णबहादुर न्यौपानेसँग सामाजिक परम्परा अनुसार विवाह गरेको बताइन् । पति वैदेशिक रोजगारीमा गएपछि आफूसहित छोराहरूको शिक्षा, स्वास्थ्य, औषधोपचारमा वेवास्ता गरेकाले इन्सेकको सहयोगमार्फत अदालतमा अंश चलन मुद्दा दर्ता भएको जनाइएको छ ।
इन्सेकद्वारा गठित मानवअधिकार रक्षक सञ्जालले घरेलु हिंसा पीडित महिलाहरूलाई न्यायमा पहुँचका लागि काम गर्दै आएको जनाइएको छ ।
घरपरिवार र समाजका भद्र भलादमीबीच २०८३ वैशाख १० गते भएको छलफलमा पति पूर्णबहादुरले छोराहरूको पालन पोषण र पत्नीको पालन पोषण नगर्ने, अंश नदिने भनेपछि आफू इन्सेकसम्म आइपुगेको पीडितले बताइन् ।
अंश चलन र घरेलु हिंसा शीर्षकमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि पीडित कार्कीले न्याय पाउने आशा पलाएको बताइन् ।
View : 123
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved