Biratnagar, Morang, Nepal
९ मंसिर २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

जता सुविधा, उतै माओवादीको जिम्मेवारी बाँडफाँड

गाडी सुविधा पाउने भएपछि तिम्सिना ताेकिइन् प्रमुख सचेतक
उद्घोष सम्वाददाता
१४ भदौ २०८१, शुक्रवार

विराटनगर । कोशी प्रदेश सभाको दोस्रो कार्यकालको दुई वर्ष पुग्न लाग्दा प्रतिपक्षमा पुगेको माओवादी केन्द्रले प्रदेश सभा सचिवालयबाट सुविधा पाउने भएपछि बल्ल प्रमुख सचेतक तोकेको छ । 

शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रमुख प्रतिपक्षी दलको हैसियतमा पुगेको माओवादी केन्द्रले प्रदेश सभा सचिवालयबाट गाडी सुविधा पाउने भएका कारण प्रमुख सचेतकमा सांसद गीता तिम्सिनालाई तोकेको छ । तिम्सिना माओवादी केन्द्रकी समानुपातिक सांसद हुन् ।

संसदीय दलका नेता इन्द्र बहादुर आङ्बोले तिम्सिनालाई प्रमुख सचेतक तोकेको जानकारी प्रदेश सचिवालयलाई गराएका छन् । सोही जानकारीका आधारमा सभामुख अम्बर बिष्टले प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको सदस्यमा प्रमुख सचेतकको हैसियतमा तिम्सिनाले प्रतिनिधित्व व्यहोराको पत्र समेत पढेर जानकारी गराएका छन् । 

कोशी प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा २ को (घ) मा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक रहने व्यवस्था उल्लेख छ । कोशी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले विगतदेखि नै एउटा गाडी र त्यसका लागि एकजना हलुवा सवारी चालक समेत सुविधाका पाउँदै आएका छन् ।

त्यसैगरी प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकले सवारी साधनका लागि मासिक इन्धन, मोबिल, विजुली र धाराको महसुल खर्च पनि पाउने व्यवस्था रहेको छ ।

शुक्रबार बसेको दलको बैठकपछि आङ्बोले प्रमुख सचेतकमा तिम्सिनालाई नियुक्त गरेको जनाइएको छ । पूर्वमन्त्री समेत रहेका प्रदेश सांसद गणेश प्रसाद उप्रेतीले दलको नेतालाई प्रमुख सचेतक चयन गर्ने अधिकार भएकोले शुक्रबारदेखि तिम्सिनालाई प्रमुख सचेतक चयन गरिएको जानकारी दिए ।

गाडी सुविधा पाउने भएपछि नेता आङ्बोले प्रमुख सचेतकमा तिम्सिनालाई नियुक्त गरेका हुन् । प्रदेश सभा सचिवालय स्रोतका अनुसार माओवादी केन्द्र संसदीय दल नेता आङ्बोले विगतदेखि नै गाडी सुविधा उपभोग गरिरहेकोले अब प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा थप सेवा सुविधा माग भए अनुसार उपलब्ध गराइने बताए । त्यसैगरी प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतकको सेवा सुविधा पनि माग भएपछि उपलब्ध गराउने जानकारी दिए । 

नेता आङ्बोले अहिलेसम्म उपनेता र सचेतक चयन गर्नका लागि भने कुनै चासो देखाएका छैनन् । सुविधा प्राप्त हुने भएपछि मात्रै प्रमुख सचेतक नियुक्ति गरिएको भन्दै पार्टीभित्र पनि कुरा उठेको माओवादी केन्द्रका एक सांसदले बताए ।

उनले संसदीय दलभित्रको जिम्मेवारी तोक्न नसक्ने दलका नेता नै हुन नसक्ने बताए । दललाई विगतदेखि नै आफूखुसी रुपमा चलाउने गरेको ती सांसदको आरोप छ । 

अहिले आएर सुविधा पाउने पदमा मात्रै जिम्मेवारी तोक्दा पार्टीभित्रको लोकतान्त्रिक प्रणालीप्रति गैर जिम्मेवारीपन देखाएको र प्रदेश सभामा दलको भूमिकालाई पनि कमजोर बनाएको ती सांसदले बताए । 

कोशी प्रदेश सभामा माओवादी केन्द्रका १३ जना सांसद रहेका छन् । कोशी प्रदेश सभामा माओवादी केन्द्र बाहेक सबै दलभित्र दलको परिभाषित जिम्मेवारी तोकिएका छन् ।

२०७९ पुस १२ मा माओवादी केन्द्रका ज्येष्ठ सांसद नारायण बहादुर मगर अध्यक्षतामा बसेको बैठकबाट आङ्बो दलको नेता चयन भएका थिए ।

प्रदेश सभाको पहिलो कार्यकालमा झण्डै चार बर्ष आर्थिक मामिला तथा योजना मन्त्री बनेका आङ्बोले दोस्रो कार्यकालमा दलभित्र असहज महसुस गरेपछि पाटीका तत्कालिन सचिव एवं प्रदेश १ इञ्चार्ज रहेका राम कार्की, पार्टीका पोलिटब्यूरो सदस्य तथा सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतमार्फत दबाब बढाएर दलको नेता चयन भएका थिए ।

त्यसपछि उनले आफु इतरका लागि जिम्मेवारी नै नदिने रणनीति अनुसार संसदीय दललाई चलाउँदै आएका छन् ।

View : 193

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved