विराटनगर । मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा रहेका उद्योगहरुमा आवश्यक पर्ने कामदार र त्यस्को आपूर्तिका लागि सहजता प्रदान गर्न निर्माण गरिएको सफ्टवेयरबाट तथ्यांक संकलन कार्य सुरु गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले श्रम बजार सूचना प्रणालीको संस्थागत विकासका लागि द्रुत बजार विश्लेषणसम्बन्धि सफ्टवेयर संचालनमा ल्याएको हो । उक्त सफ्टवेयरबाट तथ्यांक संकलन सुरु गरिएको कुरा महासंघले सरोकारवालाहरुलाई जानकारी समेत गराएको छ ।
महासंघ कोशी प्रदेशका राजेन्द्र राउतले देशको आर्थिक विकासको महत्वपूर्ण इन्जिनको रुपमा रहेका उद्योग प्रतिष्ठानहरूको प्रवर्द्धन हुनसके मात्र राज्यले आर्थिक बृद्धि गर्ने बताए । त्यसका लागि औद्योगिक वातावरण निर्माण गर्नुनै अहिलेको आवश्यकता रहेको बताए ।
सूचना र प्रविधिको विकासको चरणले कामहरुलाई सहज बनाउँदै लगेको अवस्थामा श्रम बजारको सूचना प्रणालीको संस्थागत विकासमा सफ्टवेयरको प्रयोगले थप सहकार्य बढाउने विश्वास व्यक्त गरे । अध्यक्ष राउतले उक्त सफ्टवेयरलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको प्रणालीमा ‘अपलोड’ गरिसकेको जानकारी समेत दिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय विराटनगरका प्रमुख पुष्प कटुवालले उद्योगहरुको तथ्याङ्क अनिवार्य राख्नुपर्ने प्रावधान आवश्यक रहेको बताए ।
ग्रामीण उद्यम तथा विप्रेषण परियोजना (समृद्धि) का टोली नेता सन्दिप पौडेलले उद्योगहरुको मागको आधारमा संचालन गरिने कार्यक्रम सफल हुने बताए । श्रम सम्बन्धी तथ्याङ्कको अभावमा तथ्यमा आधारित नीति निर्माण हुन नसकेकोले सफ्टवेयरमार्फत श्रम विवरण संकलन गरिएको उनले बताए ।
समृद्धिका आयोजना प्रमुख सरोजप्रसाद गुरागाईंले आवश्यकताको आधारमा सफ्टवेयरको निर्माण हुने र समय अनुसार यसलाई अपडेट गर्दै लानुपर्ने बताए । गुरागाईले महासंघका अध्यक्ष राउतलाई सफ्टवेयर तथा सफ्टवेयर संचालनका लागि आवश्यक डिजिटल उपकरण हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, दुहवी नगरपालिका, बुडीगंगा, कटहरी, जहदा गाउँपालिकाका रोजगार संयोजक, सामी, रेमी, इन्स्योर परियोजनाका प्रतिनिधिको समेत सभभागिता रहेको महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।
View : 157
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved