विराटनगर । विराटनगरमा नौ दिनसम्म सञ्चालन भएको आठौं संस्करणको विराट एक्स्पो आइतबार सम्पन्न भएको छ । उद्योग संगठन मोरङले आयोजना गर्ने एक्स्पोहरू मुलुककै आर्थिक क्षेत्रको रुपान्तरण र बहस निर्माणमा महत्वपूर्ण थलो बन्दै आएका छन् । यसपटकको एक्स्पो पनि संगठनले लिएको थिममा उत्कृष्ट बनेको छ ।
उद्योग व्यवसाय क्षेत्रका विभिन्न संघसंस्थाहरू विभिन्न ठाउँमा आयोजना गर्ने एक्स्पोलाई किनमेल र रमाइलो गर्ने मेलाका रुपमा मात्रै चित्रित गर्ने परम्पराबाट संगठनले मुक्त गराउने विगतदेखिको प्रयासलाई सफलतातिर अघि बढाएको छ ।
सातौं संस्करणको एक्स्पोमा आर्थिक क्षेत्रका अनेकौं बिषयमा अर्थपूर्ण बहस चलाएर चर्चा कमाएको उद्योग संगठनले आठौं संस्करणमा निजी क्षेत्रले उठाउने मुद्दालाई स्थापित गर्न बहुसरोकारवाला पक्षको भूमिकालाई स्थापित गराएको छ ।
उद्योग व्यवसाय विकासमा महत्वपूर्ण सरोकारवाला रहेका विद्यार्थीहरूलाई ल्याएर जोड्ने, उनीहरूको आवश्यकता अनुसारका सीप तथा रोजगारीको सिर्जना गर्ने र उद्यमशिलतामा आकर्षण गर्ने, औद्योगिक क्षेत्रको नीति निर्माण गर्ने सरकारी पक्षसँग वकालत गर्ने र अनुकूल नीति निर्माणमार्फत पुनः युवा विद्यार्थीलाई औद्योगिक क्षेत्रमै जोड्ने प्रणालीको विकासमा यसपटकको एक्स्पो सफल भएको दाबी गरिएको छ ।
आइतबार आयोजित समापन समारोहका माध्यमबाट त्यसैको चक्रबारे थप स्पष्ट पारिएको एक्स्पोका संयोजक एवं संगठनका उपाध्यक्ष भोलेश्वर दुलालले बताए ।
‘संगठनले गर्ने एक्स्पो भनेको मेला महोत्सव जस्तोमात्रै हुँदैन, यसरी एक्स्पो गर्न हामीलाई एक महिनाको तयारी लागेको छ, यो तहमा एक्स्पो गर्ने हाम्रो उद्देश्य पूरा भएको छ’ दुलालले भने, ‘सवैले एक्स्पो लगाउन सक्छन् तर यो थिममा अरुलाई गाह्रो छ, हामीले सफलता पाइसकेका छौं ।’
एक्स्पोका संयोजक दुलालको भनाइमा उद्योग संगठनका अध्यक्ष राकेश सुरानाले समेत समर्थन जनाएका थिए । उनले हरेक बर्ष नयाँ तरिकाले एक्स्पो आयोजना गर्ने उद्योग संगठनको योजना सफल बनेको बताए । ‘हामीले अत्यन्तै राम्रो गर्ने प्रयास गरेका थियौं, त्यो पूरा भएको छ’ अध्यक्ष सुरानाले भने ।
अध्यक्ष सुरानाले विराट एक्स्पो अवधिमा कलेज तहका २ हजार ५ सय बढी विद्यार्थीले औद्योगिक क्षेत्रमार्फत उपलब्ध हुने अवसरका बारेमा जानकारी प्राप्त गरेको बताए ।
उद्योग संगठन मोरङले माघ ११ देखि एक्स्पो सुरु गरेको थियो । तर उक्त दिन उद्घाटन हुन नसक्दा भोलिपल्ट कुर्नु परेको थियो ।
औद्योगिक क्षेत्रका रुपमा रहेको विराटनगरमा ठुला एक्स्पो आयोजना गर्न अझैपनि अनेकौं चुनौति भने कायमै छन् ।
पर्याप्त ठाउँ भएको प्रदर्शनी स्थलको अभावमा निजी क्षेत्रले एक्स्पोको ठाउँ फेरिरहनु पर्ने अवस्था विद्यमान रहेको छ । ठाउँकै अभावमा उद्योग संगठनले अघिल्लो पटकदेखि विराटनगर–१४ जतुवास्थित डिग्री क्याम्पसको प्राङ्गणमा एक्स्पो आयोजना गरिरहेको छ ।
शैक्षिक संस्थाको नजिकै एक्स्पो आयोजना हुँदा त्यसले विद्यार्थीहरूको अध्ययन अध्यापनमा कठिनाई हुने भन्दै विरोध पनि हुने गरेको छ ।
एक्स्पोको समापनका अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरमा ठुला औद्योगिक प्रदर्शनी स्थलको अभावको समस्या समाधान गर्न सरकारले सहयोग गर्ने बताए ।
उनले प्रदेश सरकारसँग जग्गा नहुने स्पष्ट पार्दै स्थानीय तह र संघीय सरकारले जग्गा उपलब्ध गराए प्रदेश सरकारले आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
‘एक्जीविशन सेन्टर स्थापनामा मेरो पहिल्यैदेखि सहमति छ, तर हामीसँग जग्गाको अधिकार हुँदैन’ मुख्यमन्त्री कार्कीले भने, ‘महानगरपालिका र संघीय सरकारले जग्गाको व्यवस्था गरे त्यसमा लगानी गर्न प्रदेश सरकार तयार छौं ।’
उनले आगामी बैशाखमा प्रदेश सरकारले लगानी सम्मेलन गर्ने र त्यसको तयारी अघि बढिरहेको जानकारी दिए । निजी क्षेत्रलाई विश्वासमा राखेर निजी क्षेत्रकै सहकार्यमा लगानी सम्मेलन सम्पन्न हुने मुख्यमन्त्री कार्कीले बताए । त्यसका लागि सहयोग गर्न पनि उनले आग्रह गरे ।
अवलोकन र व्यापारमा कमी
विराटनगरको मुख्य बजार क्षेत्रबाट टाढा एक्स्पो स्थल भएका कारण यसपटक एक्स्पोमा अवलोकनकर्ताहरूको उपस्थितिमा भने कमी देखिएको छ ।
रात्रीकालिन सांगीतिक कार्यक्रममा उत्साहित उपस्थिति रहे पनि स्टलको अवलोकन र व्यापार भने अपेक्षित नभएको स्टल बुकिङ गरेका उद्योगी व्यवसायीहरूले बताएका छन् ।
शनिबार भने अवलोकनकर्ताको चाप देखिएको थियो । तर त्यसअघि न्यून संख्यामा अवलोकनकर्ता आएका कारण सोचे अनुसार व्यापार गर्न नसकेको उनीहरूको भनाइ छ । आयोजकले अवलोकनकर्ता आउने समयमै टिकट दर बढाउने गरेका कारण आफ्नो व्यापार प्रभावित भएको उनीहरूले गुनासो गरे ।
पर्याप्त अवलोकनकर्ता प्रवेश नगरेका कारण स्टल लिएका व्यवसायीहरूले कारोबारको अवस्था सोध्दा नाक खुम्च्याए । उनीहरूले विगतझैं कारोबार हुन नपाएका कारण एक्स्पोकै आर्थिक कारोबार घटेको दाबी गरे । सोही कारण एक्स्पोमा रोचक र नयाँ–नयाँ प्रविधिको प्रदर्शनी र बिक्री हुने स्टलमा भने अवलोकनकर्ता आकर्षित बनेका थिए ।
एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका विभिन्न वस्तु तथा सेवा प्रदायकका २ सय ६८ वटा स्टल लागेका थिए । ती स्टलबाट कोशी प्रदेशकै औद्योगिक उत्पादनको बिक्री प्रवद्र्धन हुने अपेक्षा गरिएको थियो ।
समापन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत लगायतले भव्य रुपमा एक्स्पो समापन भएको भन्दै प्रशंसा गरेका थिए ।
View : 59
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved