विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा पुनः सक्रिय भएको घोषणा गरेपछि सत्तारुढ नेकपा एमालेभित्र ध्रुवीकरण बढेको छ ।
केही वर्षयता पार्टीमा एकलौटी प्रभाव जमाउँदै आएका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिँदै भण्डारी एमालेभित्र अघि बढेपछि त्यसको प्रभाव देशव्यापी बन्दै गएको छ ।
ओली समूहको एकछत्र राज रहेको मानिने कोशी प्रदेशका धेरै नेताहरु भण्डारीको पक्षमा खुलेर उभिन थालेका छन् ।
केही समय अघिसम्म मोरङका नेता विनोद ढकाल एक्लै उभिएको विद्या भण्डारी समूहमा अहिले खुलेर उभिनेहरुको संख्या बढेको छ ।
यसको प्रमाण मदन भण्डारी फाउण्डेसनले भण्डारीको ७५ औं जन्मजयन्ती मनाउन गठन गरेको समितिको नामावली हो । जहाँ ओली पक्षका कोर टिम भनेर चिनिएका कोही पनि सहभागी छैनन् ।
मदन भण्डारी फाउण्डेशनमार्फत एमालेको संगठन र जनताको बहुदलीय जनवाद (जबज) को विस्तार गर्न भन्दै आफ्नै संरक्षकत्वमा विद्यादेवी भण्डारीले बेग्लै संयन्त्रको अभ्यास सुरू गरेको एमाले नेताहरु बताउँछन् ।
मदन भण्डारीको हीरक जन्म जयन्ती मनाउन भन्दै घोषणा गरिएको मूल व्यवस्थापन समितिको संयोजक डोरमणि पौडेल छन् । पौडेल वागमती प्रदेशका पूर्व मुख्यमन्त्री हुन् ।
मूल व्यवस्थापन समितिमा रहेका चार सदस्यीय सल्लाहकारमध्ये पूर्वमन्त्री तथा चीनका लागि पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे, कोशी प्रदेशका पूर्वप्रमुख सोमनाथ अधिकारी प्यासी, पूर्वमन्त्री युवराज कार्की र एमालेकै पाका नेता वाचस्पति देवकोटा छन् ।
पूर्वमन्त्री युवराज कार्की झापाका एमाले नेता हुन् । समितिमा झापाका पुराना नेता नारद भारद्वाज, मोरङका विनोद ढकाल, खेम नेपाली, सुबोधराज प्याकुरेल, धरानका जयकुमार राई, झापाका हीरा थापालगायतका नेताहरु पनि छन् ।
समितिको सहसंयोजक रहेका सुशील प्याकुरेल पनि विराटनगरका वासिन्दा हुन् । उनको राजनीतिक लिगेसी भने सप्तरीसित जोडिएको छ ।
धनकुटाका गोपाल गुरागाईं, धनकुटाकै पत्रकार सिद्धराज राई, विराटनगरमा डिआइजी रहिसकेका नवराज सिलवाल, पत्रकार राजेश राई पनि समितिमा छन् । विराटनगरकै प्राडा उपेन्द्र कोइराला, मोरङकी शान्ति पाख्रिन पनि समितिमा रहेकी छन् ।
यो समितिमा रहेका नेताहरुले अब आफूहरुले कित्ता प्रष्ट गर्न थालेको बताएका हुन् । ‘हिजो ओलीले फाउण्डेशनमार्फत नै तत्कालीन अध्यक्ष झलनाथ खनाललाई चुनौती दिएर अघि बढेका हुन्’, समितिमा रहेका मोरङका एक नेताले भने ‘आज पूर्वराष्ट्रपतिले त्यही अभ्यास थाल्नुभएको छ । हामीलाई अब कित्ता क्लियर गरेको भनेर बुझे हुन्छ ।’
कुनैबेला एक अर्काका निकट सहयोगी भनेर चिनिएका ओली र विद्या अहिले आएर एक अर्कालाई टक्कर दिने तहमा उक्लिएपछि एमालेमा ध्रुवीकरण बढिरहेको छ । विद्याले सक्रिय राजनीतिमा फर्केको घोषणा गरेको विषयलाई ओलीले रुचाएका छैनन् ।
ओलीले पटक पटक ‘ओली बिनाको एमालेको कल्पना नगर्न’ भन्दै आएका छन् । भण्डारीले भने पार्टीमा योग्यहरुको कुनै कमी नरहेको बताएकी छन् ।
View : 928
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved