Biratnagar, Morang, Nepal
९ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई ५० प्रतिशत अनुदान दिने सिदिङ्वा गाउँपालिकाको घोषणा

उद्‌घोष संवाददाता
९ असार २०८३, मङ्गलवार

Advertisement

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँ अधिवेशनमा अध्यक्ष मानबहादुर राईले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् । 

विद्युत् महसुलमा राहत दिने कार्यक्रमले न्यून तथा मध्यम आय भएका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने गाउँपालिकाको अपेक्षा छ ।

गाउँपालिकाका सूचना अधिकारी रुद्र बेघाका अनुसार पालिकाभित्र रहेका दुई हजार ५०० भन्दाबढी घरधुरीमध्ये मासिक ५० युनिटसम्म विद्युत् खपत गर्ने परिवार उक्त कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

पचास युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्ताको हकमा भने यो सुविधा लागू नहुने उनले जानकारी दिए ।

अध्यक्ष राईले ‘एक घर एक करेसाबारी, प्राङ्गारिक तरकारी’ नारासहित कृषिमा आत्मनिर्भरता बढाउने, किसानलाई प्रोत्साहन गर्ने तथा स्थानीय उत्पादन वृद्धि गर्ने विभिन्न कार्यक्रमसमेत सार्वजनिक गरे ।

‘स्वस्थ माटो, स्वस्थ उत्पादन’ स्वस्थ भान्सा, स्वस्थ जीवन कार्यक्रमलाई प्रभावकारी बनाउन ल्याब सेवालाई निरन्तरता, प्राङ्गारिक मल उत्पादन र प्रयोग गर्नेलाई प्रोत्साहन गर्नुका साथै पशुपालनमा अनुदानको व्यवस्था गर्ने पनि उनको भनाइ छ ।

यसैबीच, गाउँपालिकाले आगामी आवका लागि ५३ करोड आठ लाख २६ हजारको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको गाउँसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्णकुमारी कँडरियाले बजेट प्रस्तुत गरिन् । 

गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा बजेटमा विद्युत् महसुलमा अनुदान, कृषि उत्पादन वृद्धि, प्राङ्गारिक खेती प्रवद्र्धन तथा स्थानीय नागरिकको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ ।

View : 49

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved