विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले आफ्नो कार्यकालभरी नगरपालिकाले लिंदै आएको कर नबढाउने घोषणा गरेका छन् । उनले पहिलो पटक केही करमा बढाएको दरलाई पुरानै अवस्थामा कायम गर्दै नगरवासीलाई करमा राहत दिएको घोषणा गरेका हुन् ।
पहिलो पटक गरिएको कर वृद्धिको विरोध भएपछि मेयर मेयर बगडियाले मंगलबार पत्रकार सम्मेलन गरेर पहिलेकै दरमा कर लिने र आफ्नो कार्यकालमा कुनै पनि कर वृद्धि नगर्ने बताए । उनले करमा अनावश्यक वृद्धि नगरे पनि जनताको सुझाव अनुसार त्यसलाई मंगलबार बसेको विशेष नगर सभाबाट निर्णय गरेर घटाइएको बताए ।
रंगेलीमा कर वृद्धि गरिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मेयर बगडियाले करको दर पूर्ववत् नै कायम गरेको बताए । उनले रंगेलीमा मालपोतबाहेक नगरपालिकाले कुनै पनि कर नलिएको दाबी गरे ।
‘किसानको पनि समस्या परेको कुरा आयो, त्यही भएर किन थोरै घटाउने, बरु पहिलेकै दर कायम राख्ने निर्णय गरेका छौं’ मेयर बगडियाले भने, ‘किन बोल्ने मौका दिने ? अब हाम्रो कार्यकालमा कुनै पनि कर एक रुपैयाँ बृद्धि नै नगर्ने घोषणा गर्दछौं ।’
उनले आफ्नो दोस्रो कार्यकालमा चालु आर्थिक बर्षमा मात्रै पहिलो पटक करमा सामान्य वृद्धि गरिएको जानकारी दिए । तर त्यसमा पनि केही राजनीतिक दलले विरोध गरेका कारण अब कर नै नबढाउने बताए ।
उनले नागरिक र नगरबासीको हितमा आफुले पुरानै करको दर काम गरेको दाबी गरे । आफूलाई करको कारण बनाएर राजनीति गर्न खोजिएको भन्दै त्यसलाई आफूले पनि स्वाभाविक रुपमा लिएको बताए ।
‘उहाँहरूले राजनीतिक गरेको हो, छेक्न त खोजेकै हो, तर करले मात्रै छेक्न सक्छ र ?’ बगडियाको प्रश्न थियो, ‘अहिले रंगेलीमा मालपोतबाहेक कुनै पनि कर छैन, कर लिएको छ भने देखाइ दिनु ।’
उनले जनतालाई नै मार पर्छ भनेर अहिलेसम्म एकीकृत सम्पत्ति कर नलगाएको बताए । उनले कर बढी उठ्दा जनतालाई भन्दा राजनीतिक दललाई बढी पीडा भएको भन्दै कर घटाउनु परेकोमा भने असन्तुष्टिसमेत पोखे । कर घट्दा नगरको विकासमा असर पर्ने कुरालाई आफूले मनन गरेको बताए । तर जनताले कर घटाउन आग्रह गरेकोले एउटा दुईटा कल्भर्ट नबन्दा पनि विकासको काम प्रभावित नहुने प्रष्टिकरण दिए ।
विशेष नगर सभाले चालु आर्थिक वर्ष २०८१–८२ का लागि यसअघि पारित भएको सिफारिस दस्तुर गत आर्थिक वर्ष बमोजिम हुने निर्णय गरेको छ । वडा समितिले निर्णयबाट सर्जमिन गर्नुपर्ने भएमा सर्जमिन बापतको रकम नलिने, नम्बरी जग्गामा खर वा परालले छाएको घरको हकमा पनि घर कर नलिने पनि विशेष नगरसभाले निर्णय गरेको छ ।
त्यसैगरी नगरपालिका भरीका खेतीयोग्य जग्गामा मालपोत कर प्रति कठ्ठा ३३ रुपैयाँ ८६ पैसा कायम भएकोमा त्यसलाई घटाएर पुरानै दर २० रुपैयाँ कायम गरिएको जनाइएको छ । आरसीसी संरचनाका घरको नक्सापास गर्दा प्रति वर्ग फिट डेढ रुपैयाँ रहेको करलाई पनि ७० पैसा कायम गरिएको छ ।
View : 79
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved