विराटनगर । विगतदेखि नै विभिन्न दबाबहरुले थिचिएको नेपाल प्रहरी जेन–जी आन्दोलनका क्रममा लिइएको आफ्नो हुर्मतले झनै पिरोलिएको अवस्थामा छ । गृहमन्त्री र उच्च प्रहरी अधिकारीहरुले ‘उच्च मनोबलसहित खटिन’ निर्देशन दिए पनि सडकमा ड्युटीरत प्रहरी सातायता कमजोर मनोबलले लखेटिएको छ ।
‘प्रहरीमाथि कुटपिट भयो, हतियार र बर्दी खोसिए, कतिपय ठाउँमा सार्वजनिक रुपमै बेइज्जतीसमेत गरियो,’ कोशी प्रदेश प्रहरीमा कार्यरत एक अधिकृतले भने ‘दुई दिनको जेनजी आन्दोलनमा जब प्रदर्शनकारीको ज्यान गयो, प्रहरीलाई त्यसपछि मुख्य निशाना बनाइयो । यसले प्रहरी मनोबल ह्वात्तै घटाएको छ ।’
प्रहरी सेवामा एक दशक लामो समय सेवा गरिसकेका ती अधिकृतले भने झैं अहिले सडकमा पातलो संख्यामा परिचालित प्रहरीहरु आन्दोलनअघिको जस्तो मनोबलमा छैनन् ।
कार्यालय र घरपरिवार सबैको चासो, चिन्ता र दबाबले सधैं तनावमा रहने प्रहरी फोर्स अहिले त्यही आन्दोलनमा भोगेको दुःखद् नियतिले तर्सिरहेको छ ।
प्रहरीहरुले आफ्नो पेशागत भूमिका निर्वाह गर्दा किन निशानामा पारिएको भन्दै सामाजिक सञ्जालमा अभियान नै चलाएका थिए ।
यसअघि विरलै मात्रै देखिने यस्तो दृश्य मुलुकभरी नै देखिएको थियो । यसपटक दुई दिने जेनजी आन्दोलनमा कोशीमा मात्रै ११४ जना प्रहरी घाइते भए । तीमध्ये ५ जनालाई गम्भीर अवस्थामा अस्पताल पु¥याइएको थियो ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ती पाँचमध्ये पनि एक जना प्रहरीको अझै पनि आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कोशी प्रदेश प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार प्रहरीका हतियार पनि लुटिएका छन् । तर, संख्या भने उनले खुलाउन अस्वीकार गरे ।
‘अलिअलि हतियार लुटिएका छन्, कतिपय फिर्ता भएका छन्, केही खोजतलासकै क्रममा छन्’ पोखरेलले भने ‘हतियार खोजीका लागि तीव्र रुपमा सर्च अपरेशन चलिरहेको छ ।’
पोखरेलका अनुसार एउटा जिल्ला प्रहरी कार्यालयसहित ५७ वटा प्रहरी कार्यालय र पोस्टमा प्रदर्शनकारीले क्षति पुर्याएका छन् ।
‘उदयपुर जिल्ला प्रहरीका केही क्षति भएको छ, ५७ मध्ये २४ वटा ध्वस्त भएका छन्’, पोखरेलले थपे ‘बाँकी कार्यालयहरु पनि बसेर काम गर्न नसकिने अवस्थामा छन् ।’
जिल्लागत रुपमा प्रहरी भवन तथा कार्यालयहरुमा सबैभन्दा धेरै क्षति झापामा भएको छ । झापामा २२ वटा, मोरङमा १८ वटा र सुनसरीमा १४ वटा प्रहरी युनिटमा क्षति भएको छ ।
ट्राफिक प्रदेश कार्यालयसहित १२ वटा युनिटमा क्षति भएको पोखरेलले जानकारी दिए ।
धेरैजसो ग्रामीण इलाकामा रहेका प्रहरी भवनमा आगजनी भएपछि ती ठाउँबाट प्रहरी विस्थापनमा परेको छ । यसले ती क्षेत्रमा सुरक्षा चुनौती बढाएको छ ।
आन्दोलनपछि कोशी प्रदेशमा प्रहरीको नियमित गस्ती पनि ह्वात्तै घटेको छ । यसको मुख्य कारण प्रदर्शनकारीहरुले प्रहरीका गाडीमा पुर्याएको क्षति हो ।
कोशी प्रदेशमा मात्रै प्रहरीका ८४ वटा गाडी क्षतिग्रस्त बनेका छन् । तीमध्ये मध्ये ७९ वटो ध्वस्तै रहेको प्रहरीको भनाइ छ ।
एसएसपी पोखरेल सकेसम्म सबैतिर प्रहरी उपस्थिति पु¥याउन र सर्वसाधारणलाई त्रासमुक्त तुल्याउन तीव्र गतिमा काम भइरहेको बताउँछन् ।
‘अहिले चाहिँ हामी मुख्यतः क्षतिको विवरण संकलनमै केन्द्रित छौं,’ उनले भने ‘सँगै प्रहरीलाई मर्ज गरेरै भए पनि परिचालन गरिरहेका छौं ।’
सुरक्षा घेराको सबैभन्दा अघिल्लो मोर्चा सम्हाल्ने भएकैले हरेक आन्दोलनमा नेपाल प्रहरी आन्दोलनकारीको निशानामा पर्दै आएको छ ।
२०६२–६३ को जनआन्दोलनमा पनि प्रहरीमाथि आन्दोलनकारी जाइलागेका थिए । प्रहरी मनोबल उकास्न लामो समय लागेको अधिकारीहरु बताउँछन् ।
नयाँ संविधान कार्यान्वयनमा आएको दशकपछि फेरि प्रहरी संगठन उस्तै मनोदशामा फर्किएको र यो सामाजिक सुरक्षाका लागि चिन्ताको विषय भएको विज्ञहरु बताउँछन् ।
‘प्रहरीले २०४६ देखि हालसम्म आउँदा थुप्रै घटनाहरू व्यहोर्दै आयो । जेनजीको प्रदर्शनका क्रममा घुसपैठ भएरै होला, सुनियोजित ढंगले प्रहरीका कार्यालय जलाइए, प्रहरीलाई मारियो, पूर्व एआईजी सुरेन्द्रबहादुर शाहले भने ‘अब उनीहरूलाई पुरानै अवस्थामा फर्काउन उनीहरूको मनोविज्ञानको उपचार जरुरी छ । त्यो भनेको समाजका अगुवा, पूर्व प्रहरी, नागरिक समाजलगायत सबै पक्षले उनीहरूका कुरा सुन्ने र आवश्यक सहयोग गर्नुपर्छ ।’
प्रहरीलाई आत्मीय र भावनात्मक सहयोगको खाँचो रहेको उनी बताउँछन् ।
विराटनगरका एक प्रहरी अधिकारीका अनुसार बल प्रयोग गर्दै नगर्नु भन्ने ‘माथिल्लो तह’ को आदेश अनुसार भदौ २४ गते मंगलबार प्रहरी जेनजी आन्दोलन नियन्त्रणमा खटिएको थियो ।
भदौ २३ कै प्रदर्शनमा काठमाडौंमा १७ र इटहरीमा २ गरी १९ जनाको ज्यान गएपछि जेनजी आन्दोलनमा बल प्रयोग नगर्न तल्लो तहसम्मै आदेश गरिएको थियो ।
भदौ २४ गते जति–जति दिन ढल्दै थियो, विराटनगरसहित कोशी तराईका जिल्लाहरु झन्–झन् तनावग्रस्त बन्दै थिए ।
झापा, मोरङ, सुनसरी, उदयपुरमा जेनजी आन्दोलन उग्र बन्दै जाँदा पहाडी जिल्ला इलामका पनि केही ठाउँमा स्थिति उस्तै बन्दै थियो । त्यसदिन मध्यान्हबाट यी सबैजसो जिल्लाका सदरमुकामहरु आन्दोलनकारीको कब्जामा पुगिसकेका थिए ।
जब प्रहरीसहितका सुरक्षाकर्मी पछि हटे, प्रदेशसभा, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरुदेखि जिल्लाका सरकारी तथा निजी भवनहरु, व्यापारिक प्रतिष्ठानहरु उग्र प्रदर्शनकारीको कब्जामा पुग्यो ।
सर्वत्र आगो लागेपछि अवस्था यति भयावह बन्यो कि, प्रहरी आफै निरुपाय जस्तै बन्यो ।
त्यसबेलासम्ममा प्रदेशका विभिन्न स्थानका प्रहरी कार्यालयहरु आगजनीको शिकार बने, प्रहरीमाथि हमला भयो । प्रहरीका हतियार र बर्दीसमेत खोसिए । त्यहीक्रममा धेरै युनिटका प्रहरीको पोशाकदेखि जुत्तासम्म जले ।
शान्ति सुरक्षाका लागि प्रयोग गर्ने अधिकांश सवारीसाधनहरु साइकल, मोटरसाइकलदेखि गाडीसम्म पनि खरानी बने । भवन, सञ्चारसेट जलाइए, सीसीटीभी मनिटरिङ कक्षहरु पनि जलेर खाक बन्न पुगे ।
त्यसो त अराजक प्रदर्शनकारीले सडकमा राखिएका सीसीटीभी क्यामेरा पनि फुटाइदिएका छन् ।
‘भदौ २४ को उग्र प्रदर्शनले भौतिक रुपमा मात्रै होइन हरेक हिसाबले अकल्पनीय क्षति भएको छ,’ प्रहरी अधिकारीहरु भन्छन् ‘चोकमा उभिने प्रहरी र सडकमा राखिएका क्यामेराहरु जनतालाई सुरक्षा अनुभूत गराउने मुख्य माध्यम थिए । त्यसैमा हमला भएको छ । यसले लामो समय समाजलाई असर पुर्याउने छ ।’
‘माथिल्लो तह बल प्रयोग नगर्नु भन्ने, आन्दोलनको उग्र भीड प्रहरीतिरै अघि बढेपछि भाग्नुको विकल्प रहेन’ ती प्रहरी अधिकृत भन्छन् ‘त्यसैले ज्यान जोगाउनकै लागि प्रहरी पछि हट्न बाध्य भयो ।’
प्रहरी अधिकारीहरु राज्य र समाज दुवैले प्रहरीलाई साधनस्रोत सम्पन्न तुल्याउन तत्कालै हातेमालो गर्नुपर्ने बताउँछन् ।
‘अहिले पनि धेरै ठाउँमा कुनै अपराध भए दौडेर पुग्नलाई प्रहरीसँग गाडी छैन’, ती अधिकारी भन्छन् ‘जब समाजमा प्रहरी मोबिलिटी (भहलपहल) घट्छ, अपराधीहरुको चलखेल बढिहाल्छ । यो सबैभन्दा खतराको संकेत हो ।’
View : 343
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved