Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगको नेतृत्व

२९ आकांक्षीलाई पछि पार्दै पूविमा प्राडा देवेन्द्र अधिकारी र समी लामा नियुक्त

उद्‌घोष संवाददाता
७ माघ २०८२, बुधवार

विराटनगर । लामो समयदेखि रिक्त रहेको पूर्वाञ्चल विश्वविद्यालय  (पूवि)सेवा आयोगले नयाँ नेतृत्व पाएको छ। २९ जना दिग्गज प्राध्यापक तथा विज्ञहरूको कडा प्रतिस्पर्धालाई पछि पार्दै विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कार्यरत प्रा.डा. देवेन्द्र अधिकारी सेवा आयोगको अध्यक्षमा नियुक्त हुनुभएको हो।

यसैगरी, सेवा आयोगको सदस्य पदमा धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्राध्यापक समी लामा नियुक्त हुनुभएको छ।

देश-विदेशका विज्ञहरूको थियो प्रतिस्पर्धा

सेवा आयोगको अध्यक्ष पदका लागि देशका प्रतिष्ठित विश्वविद्यालय मात्र नभई विदेशबाट समेत आवेदन परेको थियो। आवेदन दिने २९ जना आकांक्षीहरूमा अमेरिकाको अकामाई विश्वविद्यालयमा कार्यरत प्राध्यापकदेखि लिएर नेपालका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्याम्पसका अवकाशप्राप्त तथा बहालवाला प्राध्यापक, शिक्षाविद् र विज्ञहरू समावेश थिए।

मुख्य प्रतिस्पर्धीहरू को-को थिए?

अध्यक्षका लागि प्रा.डा. अनिल कुमार पोखरेल, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, सूर्यबहादुर थापा, प्रा.डा. काजिराम अधिकारी, भारती जोशी, निरञ्जनप्रसाद शर्मा, प्रा.डा. गोपालप्रसाद भण्डारी, खेमनाथ कोइराला, उमेश कोइराला, समी लामा, महादेव भगत, केशवराज अधिकारी, विमलकुमार लाल कर्ण, सुदन झा, डा. प्रेमबहादुर थापा, प्रा.डा. ध्रुवराज पोखरेल, ओमप्रकाश सिंह, रमेशप्रसाद कोइराला, विजयबहादुर सिलवाल, अपारकुमार लम्साल, मानबहादुर विश्वकर्मा, डा. दीपकराज जोशी, कादिर आलम, सीतारामराज बिष्ट, शम्भुप्रसाद कोइराला, डा. रामसागर पण्डित र सुनील अधिकारीले आवेदन दिनुभएको थियो।

आज सपथग्रहण कार्यक्रम

योग्यता, अनुभव र कार्यक्षमताको आधारमा गरिएको यस नियुक्तिले विश्वविद्यालयको जनशक्ति छनोट प्रक्रियालाई अझ निष्पक्ष र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। नवनियुक्त अध्यक्ष अधिकारी र सदस्य लामालाई बिहीबार विश्वविद्यालयकी कुलपति एवम् प्रधानमन्त्री सुशीला कार्कीले सपथग्रहण गराउने कार्यक्रम तय भएको छ।

विश्वविद्यालय स्रोतका अनुसार नयाँ नेतृत्वको आगमनसँगै लामो समयदेखि रोकिएका कर्मचारी तथा प्राध्यापकहरूको पदपूर्ति प्रक्रियाले गति लिने विश्वास गरिएको छ।

View : 586

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved