विराटनगर । श्रीलंकाका अनुभवी ब्याटर अलराउण्डर चारिथ असलंका तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट खेल्ने भएका छन् ।
विराटनगर किंग्सले असलंकालाई आफ्नो टोलीमा भित्र्याएको औपचारिक जानकारी दिएको हो ।
२९ वर्षीय असलंका बायाँहाते ब्याटर तथा दायाँहाते अफ–ब्रेक बलर हुन् । उनी श्रीलंकाको सीमित ओभरको क्रिकेटमा महत्वपूर्ण मध्यक्रमका ब्याटरका रूपमा स्थापित छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको पदार्पण सन् २०२१ मा भएको थियो ।
असलंकासँग श्रीलङकाका लागि तीनवटै ढाँचामा अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अनुभव छ । एकदिवसीय क्रिकेटमा उनले ८३ खेलबाट २ हजार ७३४ रन बनाएका छन् भने पाँच शतक र १७ अर्धशतक उनको नाममा छन् । त्यस्तै टी–२० अन्तर्राष्ट्रियमा ७६ खेलबाट १ हजार ४५६ रन बनाएका असलंकाले ६ अर्धशतक प्रहार गरेका छन् । उनी पार्ट–टाइम अफ–स्पिनबाट पनि टोलीलाई विकल्प दिन सक्ने भएकोले किंग्सका लागि ठुलो राहत हुनेछन् ।
श्रीलङ्काको राष्ट्रिय टोलीमा असलङ्काले नेतृत्वको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । सन् २०२४ मा उनले भारत र वेस्ट इन्डिजविरुद्धको सफल घरेलु शृंखलापछि न्युजिल्यान्डविरुद्धको एकदिवसीय तथा टी–२० शृंखलामा श्रीलंकाको कप्तानी गरेका थिए ।
सन् २०२६ को जनवरीमा इंग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलामा समेत उनैले कप्तानी गरेका थिए भने पछिल्लो समय उनी राष्ट्रिय टोलीको उपकप्तानको भूमिकामा छन् । कुसल मेन्डिसको अनुपस्थितिमा इंग्ल्यान्डविरुद्धको टी–२० शृंखलामा असलंकाले श्रीलंकाको नेतृत्व गरेका थिए ।
घरेलु तथा फ्रेन्चाइज क्रिकेटमा पनि उनको प्रभाव देखिँदै आएको छ । २०२६ को लङ्का प्रिमियर लिगमा असलङ्काले ३८५ रन बनाएका थिए । जसमा उनको स्ट्राइक रेट १५३.३९ थियो । सोही प्रतियोगितामा उनले बलिङतर्फ ६ विकेटसमेत लिएका थिए ।
विशेषगरी टी–२० क्रिकेटमा तीव्र गतिमा रन बनाउने उनको मुख्य क्षमता हो । २०२६ को लंका प्रिमियरमा उनले २५१ बलमा ३८५ रन बनाउँदै ३३ चौका र २१ छक्का प्रहार गरेका थिए ।
विराटनगर किंग्समा उनको उपस्थितिले तेस्रो संस्करणको एनपिएलमा थप रौनकता छाएको किंग्स समर्थकहरूले प्रतिक्रिया दिएका छन् । सन्दीप लामिछाने नेतृत्वको किंग्सले एनपीएलको दोस्रो संस्करणमा फाफ डु प्लेसिस र मार्टिन गप्टिलजस्ता स्टार अनुहारलाई टोलीबाट उतारिसकेको छ ।
असलंकाको आगमनसँगै विराटनगरको मध्यक्रम निकै बलियो हुने अपेक्षा गरिएको छ ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved