Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

लगानीकर्ता 'पर्ख र हेर' मा, कारोबार घटेर साढे चार अर्ब कम

उद्‌घोष संवाददाता
१७ भदौ २०८२, मङ्गलवार

काठमाडौं । लगानीकर्ताको ठूलो समूह खरिद बिक्रीमा अनिच्छुक हुँदा सेयरबजार लगातार घटेको छ ।

साताको तेस्रो दिन सूचकसँगै कारोबार घटेको हो । ठूला र संस्थागत लगानीकर्ताको सक्रियता कम देखिएको छ ।

खुद्रा लगानीकर्ताले मात्रै बजार चलाउन नसक्ने हुँदा सूचकमा अपेक्षित सुधार नदेखिएको बजार विश्लेषकहरु बताउँछन् ।

धेरै कम्पनीको वित्तीय विवरण कमजोर हुनु र लाभांशको अनिश्चितताले समेत बजारलाई दबाबमा राखेको छ ।

मंगलबार नेप्से १९.८९ अंकले घट्दै २७४१.९७ को विन्दुमा रहँदा कारोबार रकम खुम्चिँदै ४ अर्ब ४३ करोड ८२ लाखमा सीमित भएको छ । सबै उपसमूह घट्दा सूचकसँगै बजार कारोबारको रकम पनि ओह्रालो लागेको हो ।

व्यापार उपसमूह सर्वाधिक १.९७ प्रतिशतले घटेको छ । २२१ कम्पनीको सेयरमूल्य घट्दा उन्नति सहकार्य लघुवित्तका लगानीकर्ता बढी नोक्सानमा रहे ।

उक्त संस्थाको सेयरमूल्य ७.४७ प्रतिशतले घटेको छ । २९ कम्पनीको सेयरमूल्य बढेको छ ।

हिमस्टार ऊर्जा कम्पनीको सेयरमूल्यमा ९.९८ प्रतिशतको बढोत्तरी छ। बजारमा सर्वाधिक कारोबार हुनेमा दुई पुनर्बीमा कम्पनी अगाडि छन् ।

नेपाल रिइन्स्योरेन्सको २२ करोड ७० लाख र हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपेयाँको सेयर किनबेच भएको छ ।

यसैगरि युनियन हाइड्रोपावरको १४ करोड ६९ लाख, दोर्दीखोला जलविद्युतको १४ करोड ४१ लाख र हिमालयन डिष्टिलरीको १४ करोड २६ लाखको कारोबार भएको छ ।

यसअघि सोमबार नेप्से १२.०३ अंकले बढेर २७६१.८६ को विन्दुमा रहँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख रुपैयाँ थियो ।

आइतबार ६ अर्ब ६ करोड १८ लाख रुपैयाँको कारोबार भएको थियो । वाणिज्य बैंकहरूले ब्याजदर क्रमिक रूपमा घटाएका छन् ।

मुद्दती निक्षेपमा ब्याजदर अहिले ६ प्रतिशतभन्दा तल झरेको छ ।

नेपाल राष्ट्र बैंकले नीतिगत दरसमेत घटाएर मौद्रिक नीति सहज बनाएको छ । तर, ब्याजदर घट्दासमेत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक उल्लेख्य रूपमा उकालो लाग्न नसक्नुमा केही विश्लेषक तरलता प्रशस्त भए पनि बैंकहरूले कर्जामा लचिलोपन नदेखाउनुलाई कारक मान्छन् ।

धितो कर्जा सीमामा कडाइ अझै कायम छ । साथै, बैंकिङ प्रणालीमै अनिश्चितता रहेकाले लगानीकर्ताले सेयर बजारभन्दा बैंकिङ प्रणालीमै रकम राख्ने रणनीति अपनाइरहेका छन् ।

View : 334

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved