काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि खटिएका चुनावमा खटिएका एक मतदान अधिकृत र ११ जना सुरक्षाकर्मीको ज्यान गएको छ ।
रामेछापमा सोमबार भएको गाडी दुर्घटनामा मतदान अधिकृत ५७ वर्षीय डोर प्रसाद घिमिरेको मृत्यु भयो । सदरमुकाम मन्थलीबाट मतपत्रसहित निर्वाचन सामग्री लिएर सितलदेवी मावी सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाने क्रममा दुर्घटनामा परी ज्यान गुमाएका शिक्षक घिमिरे मन्थली नगरपालिका–१ स्थित भैंसेश्वर निवासी थिए ।
रामेछाप नगरपालिका–२ स्थित सिरुवारीमा भएको सोही दुर्घटनामा परी सप्तरीको रुपनी गाउँपालिका–१ घर भएका असई पर्शुराम यादवको मृत्यु भएको हो । ना ७ ख ६७६८ नम्बरको गाडी मतदान सामग्रीसहित निर्वाचन कर्मचारी लिएर जाने क्रममा भिरबाट खस्दा उनीहरुको ज्यान गयो ।
सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका रघुनाथ महतो मंगलबार अचानक बेहोस भए । रौतहटका ४२ वर्षीय सिनियर अहेब महतोलाई निर्वाचनमा खटिएका सहकर्मीहरूले अस्पताल पुर्याएपनि प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनको निधन भएको छ ।
प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिएका १० जना निर्वाचन प्रहरी र एक प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित सीता बस्तीमा रहेको जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको खाना पकाउँदा पकाउँदै निधन भयो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीका अनुसार उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।
बैतडीमा १ महिनाको अवधिमा ३ जना निर्वाचन प्रहरीको मृत्यु भयो । मृत्यु हुनेमा ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट, ३८ वर्षीय महादेव वड र ३२ वर्षीय प्रकाश चन्द छन् ।
दशरथचन्द नगरपालिका–३ का चन्द निर्वाचन सुरक्षाको ड्युटी सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको छ । वड र चन्द अचेत भएर ढलेका र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरमा १, रुपन्देहीमा १, बारामा २, महोत्तरीमा १ र नवलपरासीमा १ जना निर्वाचन सुरक्षाकर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
View : 60
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved