Biratnagar, Morang, Nepal
४ वैशाख २०८२, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश पर्यटन वर्ष २०८२ को बुधबार भव्य उद्घाटन हुँदै

उद्‌घोष सम्वाददाता
२६ चैत २०८१, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर सुरु गरेको कोशी पर्यटन वर्षको भव्य उद्घाटन बुधबार हुँदैछ । उद्घाटनका लागि सवै तयारी पूरा भएको जनाइएको छ । 

कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गर्न लागिएको हो ।

कोशी प्रदेशको तीनजुरे–मिल्के–जलजले क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भको तयारी गरिएको छ । चैत्र २७ गते तेह्रथुमको तीनजुरेबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन वर्षको शुभारम्भ गर्ने जनाइएको छ ।

मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्वपूर्ण लक्ष्यसहित पर्यटन वर्षको उद्घाटन गर्न लागिएको बताए ।

उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरे । 

‘प्राकृतिक सुन्दरताले भरिपूर्ण कोशी प्रदेशका मनोरम क्षेत्रहरूमा पूर्वाधार विकास गर्दै अघि बढ्ने र कोशी प्रदेशमा सधैभरी पर्यटक आइरहने अवस्था सिर्जना गर्नका लागि यो पर्यटन वर्ष आधार शिला हुनेछ,’ मुख्यमन्त्री कार्कीले भने ।

कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिनका लागि नाकाहरूमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तयारीमा पर्यटकीय बस तथा सवारी साधनलाई स्टिकर लगाइदिने तयारी पनि गरेको छ ।

यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक रूपमा झन्झट नदिने र चेक जाँच नगर्ने कोशी प्रदेश सरकारले तयारी गरेको छ ।

पर्यटन वर्ष भव्यताका साथ मनाउनको लागि कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति निर्माण गरी कामलाई अगाडि बढाइएको छ ।

कोशी प्रदेश सरकारले पर्यटन कार्यालय काँकडभिट्टा र धरानलाई समेत यो कार्यमा परिचालन गरेको छ ।

View : 147

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved