Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

दुई हजार विद्यार्थीलाई निःशुल्क पढाउँदै जीवन विकास

उद्घोष सम्वाददाता
८ पुष २०८०, आइतवार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले दुई हजार बालबालिकालाई निःशुल्क ट्युसन पढाइरहेको छ । मोरङको कटहरी केन्द्रीय कार्यालय रहेको लघुवित्तले ४४ वटा स्थानीय तहका ६०  स्थानमा निःशुल्क ट्युसन सेन्टर स्थापना गरी २ हजार ३२ जना विपन्न समुदायका बालबालिकालाई निःशुल्क पढाइरहेको हो । ति ट्युसन सेन्टरमा १ हजार ७४ छात्र र ९८४ छात्रा छन् ।

ट्युसन सेन्टरमा एक–एक जना शिक्षक र न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ ।

विपन्न समुदायका बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्तिको अभियानमा सहयोग गर्ने उदेश्यले ट्युसन सेन्टर सञ्चालन गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डलले बताए ।

‘शहरबजारका सम्पन्न परिवारका बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन्, विहान बेलुका बाबुआमाले आफ्ना छोराछोरीले गृहकार्य गरे नगरेको हेर्छन् र गराउँछन्’ उनले भने ‘विपन्न परिवारलाई दैनिक गुजाराको बन्दोबस्त जुटाउँदै ठिक्क हुन्छ, अधिकांशले बच्चाका बारेमा चासो लिएर गृहकार्य गराउने र बच्चाको सिकाई कस्तो छ भनेर मापन गर्न पनि सक्दैनन् ।’ 

तीनै विपन्न बस्तीका बालबालिकालाई लक्षित गरेर जीवन विकास लघुवित्तले करिब तीन वर्षअघि मोरङको डाइनियाबाट निःशुल्क ट्युसन सेन्टर सुरु गरेको थियो ।

‘डाइनियामा ट्युसन सेन्टर सुरु गरेपछि रेस्पोन्स राम्रो आयो, त्यसपछि विस्तार गर्ने निर्णय गर्याैँ’ उनले भने, ‘बालबालिकाले नियमित पढ्न पाएका छन्, एउटा सेन्टरमा एक जनाका लागि सामान्य रोजगारी पनि सृजना भएको छ ।’

निःशुल्क ट्युसन सेन्टरमा पढ्ने वालवालिकाहरु नियमित स्कुल जाने गरेको र आफ्नो सन्तानको पढाई प्रति अभिभावकको चासो बढेको पाइएको उनले बताए ।

View : 217

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved