सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बु पुगेर स्थानीय महिलाहरूलाई सुनका गरगहना सफा गर्ने बहानामा तौल कम हुने गरी ठगी गर्ने दुई भारतीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सुनको तौलमा ठगी गरेको आरोपमा भारतको सहरसा पुरुषोत्तम पुरीख–५ का ३२ वर्षीय अजय कुमार र १९ वर्षका करण कुमारलाई पक्राउ गरिएको जनाएको छ ।
उनीहरूले सुनका गहनाहरू सरसफाइ गर्ने बहानामा गरगहनाको तौलमा कमी आउने गरी ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरी र स्थानीयको सक्रियतामा बुधबार उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।
उनीहरूले सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–४ काँकुकी जयन्ता कार्कीको सुनको सिक्री, कानको रिङ र बेरुवा औंठी सफा गर्ने बहानामा प्रलोभनमा पारेर ती गहनाको तौल कमी गरेको प्रहरीले जनाएको छ ।
सोलुदूधकुण्ड नगपालिका–४ बागवानीस्थित दिदीको घरमा आएकी जयन्तालाई प्रलोभनमा पारेर सुनका गरगहना सफा गर्न बाध्य पारेको र सफा गर्ने बहानामा तौल गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
गाउँमा सुनको गहना सफा गर्ने भन्दै ठगी गर्ने समूह सक्रिय रहेको सूचना फैलिएपछि स्थानीय महिला समूह र जनप्रतिनिधिहरूको रोहवरमा दुई भारतीय नागरिकलाई नियन्त्रण लिइएको जनाइएको छ ।
उनीहरूको साथबाट सुन सफा गर्न प्रयोग गरिएको प्लास्टिकको भाँडाकुँडा, रासायनिक तरल पदार्थ, सफा गरिएका सुनका गरगहना र सफा गर्न प्रयोग गरिने अन्य सरसामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैलाई सोलुखुम्बु जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
View : 81
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved