फाइल फोटो ।
झापा । भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब ६ लाख ६० हजार ९ सय रुपैयाँ मूल्य बराबरका कपडा तथा जुत्ता झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपालले मेचीनगर नगरपालिका–६ स्थित भन्सार ढाट सीमा क्षेत्रबाट आइतबार उक्त सामान बरामद गरेको हो । बरामद सामानमा ६ लाख २० हजार रुपैयाँ मूल्य बराबरका १७० जोर स्पोर्ट सुज, ३६ हजार ५ सय रुपैयाँका ७३ पिस कुर्ता र ४ हजार ४ सय रुपैयाँ बराबरका २२ पिस जामा छन् ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय काकडभिट्टाबाट सशस्त्र प्रहरी नायब निरीक्षक महेन्द्र गुरुङको नेतृत्वमा खटिएको बीआईटी टोली र मेची भन्सार कार्यालयका भन्सार अधिकृत पृथीराम राई नेतृत्वको संयुक्त टोलीले चेकजाँचका क्रममा उक्त सामान बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण मुख्यालय झापाका सहायक गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक जोगेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार सीमा क्षेत्रमा हुने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिइरहेको छ । काँकडभिट्टा भन्सार क्षेत्रमा सशस्त्र प्रहरीले कुकुरसहित निगरानी गर्दै आएको उनले बताए ।
View : 11
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved