Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

सेयरबजार सूचक दोहोरो अंकले घट्यो, सवा १० अर्ब २१ करोडको कारोबार

उद्‌घोष संवाददाता
२६ साउन २०८२, सोमवार

काठमाडौं । गत सातादेखि ओह्रालो लागेको सेयर बजार परिसूचकमा सोमबार पनि सुधार भएन । गत साताको अन्तिम कारोबार दिनका तुलनामा कारोबार रकम बढे पनि परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से २७.९० अंकले घट्दै २८२२.४६ को विन्दुमा रहँदा १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँको कारोबार भएको छ । म्युचुअल फन्ड र अन्यबाहेकका नौ समूहका सूचक घट्दा बजार संकेत रातो भएको हो। लघुवित्त सर्वाधिक २.३५ र विकास बैंक २.३१ प्रतिशतले घटेको छ । २२० कम्पनीको सेयरमूल्य घटेको छ । जसमा सर्वाधिक ७.६४ प्रतिशतको गिरावट उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य परेको छ । यस्तै लिबर्टी इनर्जी ७.०६ र ट्रेड टावर ६.९९ प्रतिशतले घटेका छन् ।

३० कम्पनीको सेयरमूल्य बढेको छ । रिभर फल्स पावर लिमिटेडको सेयर सर्किटस्तरमा ९.९९ प्रतिशतले बढेको छ । पञ्चकन्या माई हाइड्रोपावरको सेयरमा ६.८७ प्रतिशतको बढोत्तरी छ ।

बजारमा सर्वाधिक कारोबार हुने ५ कम्पनीमा पहिलो नम्बरमा शिवम् सिमेन्ट छ । उक्त कम्पनीको ५३ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

सेयरको अन्तिम मूल्य ६४५ रुपैयाँ प्रति कित्ता कायम रह्यो । यस्तै हिमालयन रिइन्स्योरेन्सको ४२ करोड ८३ लाख, नेपाल रिइन्स्योरेन्सको ३६ करोड ६० लाख, साहस ऊर्जाको ३६ करोड ४५ लाख र बुटवल पावरको सेयर २९ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

यसअघि गत बिहीबार ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो ।

View : 365

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved