Biratnagar, Morang, Nepal
२० असोज २०८१, आइतवार
+977 21 450305, 515728, 578305
कोशी

मेची राजमार्गमा धाँजै धाँजा, राजदुवालीमा सुरु भएको मर्मत पनि रोकियो

उद्घोष सम्वाददाता
१९ असोज २०८१, शनिवार

Advertisement

विराटनगर । मेची राजमार्ग अन्तरगत राजदुवाली गोलाखर्क सडक खण्डमा सुरु भएको मर्मत रोकिएको छ । मर्मत भइरहेको ठाउँमाथि सडकै धाँजा फाटेर पहिरो खस्ने जोखिम बढेको छ । जसका कारण नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना समेतको सहयोगमा भइरहेको सडक मर्मत रोकिएको जनाइएको छ । 

असोज १० देखिको भारी वर्षापछि मेची राजमार्गका विभिन्न खण्डमा पहिरो खसेर अवरुद्ध छ । सोही राजमार्गको पाँचथर–ताप्लेजुङ जोड्ने हेवा खोलामा बनाएको बेलिब्रिज पनि बगाएको हो ।

यो सडक खण्ड अवरुद्ध हुँदा झापाबाट आउने सवारी साधन इलाममै माइखोलामा र इलाम बजारबाट जाने सवारी साधन पहिरोभन्दा माथिपट्टिको सडकमा लाम लागेका छन् ।

शुक्रबारदेखि नै राजदुवालीमा सडक मर्मतको काम सुरु भएपनि माथिबाट थप पहिरो सम्भावना देखिएपछि मर्मत रोकिएको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

आइतबार सडक मर्मत सक्ने लक्ष्य राखेर काम सुरु भएपनि थप पहिरोको जोखिम बढेपछि मर्मत रोकिएको हो । मर्मत रोकिँदा दशैंको मुखमा यो सडक संचालन नहुने चुनौति बढेको छ । 

असोज १२ देखि यस खण्डको करिब ३० मिटर सडकमा पहिरो गएपछि इलामसँग सडक ‘लाइफ लाइन’ टुटेको छ । सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवाका सवारी साधन संचालन हुन सकेका छैनन् । बिरामीलाई उपचारका लागि बिर्तामोड लैजान दुईपट्टि एम्बुलेन्स तयार पार्नुपर्ने अवस्था बनेको हो । 

पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर इलाम पुग्न सकेका छैनन् । जसका कारण इलाम सदरमुकाममा अहिले पेट्रोलियमको अभाव भएको छ ।

‘मर्मत भइरहेको सडकको ठ्याक्कै माथि धाँजाधाँजा भएपछि मर्मत रोक्नु परेको हो, यस्तो अवस्थामा माथिबाट पहिरो खसे मर्मतमा खटिएका सुरक्षाकर्मीको जीउधनकै जोखिम भयो’ सडक डिभिजन इलामका प्रमुख पवन भट्टराई भने, ‘एक किलोमिटरमै ठाउँठाउँमा पहिरो छ, एक ठाउँमा मर्मत गर्दा त्यसको माथिबाट अर्को पहिरो खस्ने जोखिम भयो, अब पानी नपरेमा मात्रै अवस्था हेरेर मर्मत अघि बढ्न सक्छ ।’ 

स्थानीयले तत्कालै राजमार्ग नखुल्ने भएपछि चिन्ता व्यक्त गरेका छन् । दशैंमा इलामसहित पाँचथर, ताप्लेजुङ पुग्ने हजारौं यात्रुहरूले दुख पाउने भएका छन् । 

अहिले करिब दुई सय मिटर सडकमा यात्रुहरूले पैदल यात्रा गर्नुपरेको जनाइएको छ । केही यात्रु भने वैकल्पिक सडकका रूपमा इलामको तिल्केनी हुँदै माइखोला–हाक्तीटार–शुत्रबारे–गुप्ती–फिक्कलबाट पनि हिँड्न थालेका छन् ।

यो खण्डमा साना सवारी साधनमात्रै चल्ने भएका कारण दशैंमा ठुलो संख्यामा हिंडडुल गर्ने यात्रुहरुलाई यात्रामा कष्ट हुने भएको छ ।

View : 99

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved