विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकारी निवास छाडेका छैनन् । सुनसरी–मोरङ सिंचाई आयोजनाको कार्यालय कोशी प्रोजेक्टमा रहेको सरकारी निवासमा ताला लगाएर हिंडेका कार्कीले चाबी अझै पनि मुख्यमन्त्री कार्यालयलाई फिर्ता नदिएका हुन् ।
सरकारी निवासमा ताला लागेका कारण वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की निजी निवासबाटै मुख्यमन्त्री कार्यालय धाइरहेका छन् । आफू मुख्यमन्त्रीकै हैसियतमा रहेको दावी गर्दै केदारले सरकारी निवासको चाबी आफैंसँग राखेका हुन् ।
संविधानको धारा १८८ (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत नलिएपछि तत्कालिन मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारको विकल्पमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम एमाले संसदीय दलका नेता समेत रहेका हिक्मतकुमार कार्कीले गत बैशाख २६ मा दावी पेश गरेका थिए । बैशाख २७ मा हिक्मत मुख्यमन्क्री नियुत्त भएपछि उनको नियुक्तिको प्रक्रिया असंवैधानिक भएको दावी गर्दै केदार सर्वोच्च अदालतमा रिट लिएर पुगेका थिए ।
तर सर्वोच्चले उक्त रिटमाथि अल्पकालिन आदेश समेत दिन नमानेपछि अहिले सुनुवाई कै क्रममा रहेको छ । केदारले सर्वोच्चबाट अन्तिम आदेश नआउञ्जेल सरकारी निवासदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका भीआईपी गाडीसमेत आफैंसँग राखेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार निवर्तमान मुख्यमन्त्री केदार कार्कीले कोशी प्रोजेक्टस्थित सरकारी निवासको चाबी लिएर जानुका साथै काठमाडौंस्थित मुख्यमन्त्रीको सरकारी निवासको चाबी समेत बुझाएका छैनन् ।
केदार कार्की र उनको सचिवालयका व्यक्तिहरुले को १ झ ००४६ नम्बरको कार, को १ झ ६२४ नम्बरको स्कार्पियो, को १ झ ६२७ नम्बरको भीभीआईपी कार र २५१७ नम्बरको स्कुटर समेत मुख्यमन्त्री कार्यालयमा फिर्ता नगरेको कार्यालय स्रोतले जनाएको छ ।
केदारका प्रमुख स्वकीय सचिव रहेका कृष्णभुषण बस्नेतको नाममा ६२४ नम्बरको स्कार्पियो रहेको रहेको जनाइएको छ । ००४६ नम्बरको कार भने कार्कीका स्वकीय सचिव रहेका दिवश राजवंशीको नाममा प्रयोग भएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।
मुख्यमन्त्रीको पदमै नभएको व्यक्तिले सरकारी सम्पति जबरजस्ती रुपमा राखेपछि मुख्यमन्त्री कार्यालयबाट मौखिक रुपमा बुझ्ने काम भइसकेको जनाइएको छ । आइतबारसम्म पनि फिर्ता नभए पत्राचार गर्ने तयारी भइरहेको जनाइएको छ ।
केदारको सचिवालयका व्यक्तिहरुले सुरुमा जेठ ९ गतेमा सर्वोच्चको आदेश आएपछि फिर्ता गर्ने बताएको र अहिले पुनः जेठ १६ गतेको आदेशपछि फिर्ता गर्ने कुरा गरिरहेको जनाइएको छ ।
View : 401
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved