Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सभागृहको प्रयोग गर्न महानगर र प्रदेश सभाबीच सम्झौता

उद्‌घोष संवाददाता
१९ माघ २०८२, सोमवार

विराटनगर । विराटनगर महानगरपालिका स्वामित्वको वीरेन्द्र सभागृहको प्रयोग गर्न महानगरपालिका र कोशी प्रदेश सभा सचिवालयबीच सम्झौता भएको छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटबाट ध्वस्त बनेको देवकोटाचोकस्थित प्रदेशसभा सचिवालय अहिले कटहरीस्थित कृषि थोक बजार केन्द्रको भवनमा सरेको छ । सचिवालयले त्यहीँ सभा हल निर्माण गरेर सभाको बैठक बोलाउने तयारी गरेपनि सभा हल निर्माण हुन नसक्दा वीरेन्द्र सभागृह भाडामा लिने सहमति भएको हो ।

आइतबार कोशी प्रदेशसभा सचिवालय र महानगरपालिकाबीच आगामी ६ महिनाका लागि औपचारिक सम्झौता भएको छ । 

प्रदेशसभा सचिवालयका अनुसार महानगरलाई मासिक ८ लाख रूपैयाँ भाडा तिर्ने गरी भाडामा लिइएको जनाइएको छ । भाडा अवधिभर सभागृहको विद्युत् र खानेपानीको महसुल पनि सचिवालयले नै व्यहोर्नेछ । 

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म ६ महिनाका लागि वीरेन्द्र सभागृह प्रदेशसभा सचिवालयलाई भाडामा दिइएको हो । सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रूपैयाँ भाडा बुझाउने छ । 

भाडा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र महानगरलाई भुक्तानी गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ । साथै, प्रचलित कानुनअनुसार लाग्ने अन्य कर प्रदेशसभा सचिवालयले नै व्यहोर्ने छ ।

प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गते दिउँसो २ बजे वीरेन्द्र सभागृहमा बोलाइएको छ ।

View : 196

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved