विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि मंसिर १६ मा हुन लागेको उपनिर्वाचनमा १६ जना उम्मेदवारहरू बीच चुनावी भिडन्त हुने भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीमा १६ जना उम्मेदवार कायम भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार बिहान १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो । तर कुनै पनि उम्मेदवारले आफ्नो मनोनयन फिर्ता नलिएका कारण उनीहरूबीच चुनावी भिडन्त निश्चित भएको हो ।
मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २४ को उपदफा (१) बमोजिम उम्मेदवारी कायम रहेका १६ जनाको अन्तिम नामावली प्रकाशन गरिएको बताए ।
उपनिर्वाचनका लागि एक स्वतन्त्र र विभिन्न दलका १५ जनाले उम्मेदवारी दिएका थिए । उनीको मनोनयनमा कुनै पनि दाबी विरोध नपरेपछि आयो गले निर्वाचन तालिका अनुसार मनोनयन फिर्ता लिने समय तोकेको थियो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशित गरेको उम्मेदवारको वर्णानुक्रम नामावली अनुसार नेकपा (एमाले) बाट तुलसीराम विश्वास, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट दिनेशकुमार थन्दार, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी (जसपा) बाट धर्मेन्द्रकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवीनकुमार विश्वास खवास उम्मेदवार बनेका छन् ।
त्यसैगरी नमनारायण चौधरी थारू–स्वतन्त्र, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट प्रशुराम विश्वास थारू, नेपाली कांग्रेसबाट बलराम सरदार थारू, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी (थारू), राप्रपा नेपालबाट राजु मुसहर, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारू, समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझी र जनता समाजवादी पार्टी, नेपालबाट सुरेशकुमार राजवंशीको उम्मेदवारीे छ ।
उम्मेदवारी कायम भएका उम्मेदवारहरूलाई निर्वाचन आयोगले बुधबार नै निर्वाचन चिन्ह प्रदान गर्ने जनाइएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनबाट निर्वाचित अध्यक्ष जयप्रकाश गच्छदारको २०८१ असार ३ गते निधन भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।
View : 42
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved