विराटनगर । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण टुंगो नलगाई र नयाँ मतदाताको नामावली समेतको निर्णय नगरी जिल्ला र प्रदेश समितिको अधिवेशन आह्वान भएकोप्रति असहमति जनाउँदै नेपाल प्रेस युनियनले मोरङ शाखाको ध्यानाकर्षण गराएको छ ।
बुधबार युनियन मोरङका अध्यक्ष वेदराज पौडेलले महासंघ मोरङकी कार्यवाहक अध्यक्ष तारा आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
चैत १७ मा सुनसरीको इटहरीमा सम्पन्न युनियनको केन्द्रीय समितिको बैठकले महासंघ केन्द्रीय समितिले सदस्यताको शुद्धिकरण टुंगो नलगाई, नयाँ मतदाता नामावली समेतको निर्णयनै नगरी जिल्ला र प्रदेशको अधिवेशन आव्हान गरेकाले पहिले सदस्यताको टुंगो लागेपछि मात्र महाधिवेशन गर्न र गराउन हुन निर्णय भएको भन्दै त्यसप्रति जिल्ला शाखाको ध्यानाकर्षण गराएको हो ।
युनियन अध्यक्ष पौडेलले नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले मोरङसहित कोशी प्रदेशका १४ जिल्लामा अधिवेशनको मिति तोकेको प्रति गम्भिर ध्यानाकर्षण भएको बताए ।
‘कोशी प्रदेश समिति र नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई हामी विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै पहिले पत्रकार महासंघमा शुद्धिकरणमा देखिएका समस्या समाधान गरेर मात्र अधिवेशनको मिति तय होस भन्ने माग गर्दैछौँ’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
मोरङसहित विभिन्न जिल्लामा सदस्यता सम्बन्धि उत्पन्न भएको विवादका कारण केन्द्रीय समितिले निरुपण गर्नेमा युनियनले अपेक्षा गरेको जनाइएको छ । युनियनको आग्रहलाई कमजोरी नठान्न पनि चेतावनी दिइएको छ ।
View : 234
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved